युक्रेनी राष्ट्रपति भोलोदिमिर ज़ेलेन्स्कीले पहिलो पटक युक्रेनी सेनाहरू रूसको बेल्गोरोड क्षेत्रमा सक्रिय रहेको पुष्टि गरेका छन्। उनले यो कदम युक्रेनको सीमावर्ती सुमी र खार्किभ क्षेत्रलाई रूसी हमलाबाट जोगाउनका लागि आवश्यक भएको बताएका छन्।
आइतबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै ज़ेलेन्स्कीले सेनाका शीर्ष सेनापति ओलेक्जान्दर सिरस्कीले कुर्स्क क्षेत्र र बेल्गोरोड क्षेत्रको अग्रपंक्तिमा युक्रेनको उपस्थितिको प्रतिवेदन पेस गरेको जानकारी दिए।
“हामी शत्रु सीमा क्षेत्रहरूमा सक्रिय कार्यहरू जारी राखिरहेका छौं र यो पूर्ण रूपमा उचित छ,” उनले भने, “युद्ध जहाँबाट सुरु भयो, त्यहीँ फर्कनुपर्छ।”
ज़ेलेन्स्कीले युक्रेनको २२५ औं आक्रमण पल्टन बेल्गोरोड क्षेत्रमा प्रदर्शन गरेको बहादुरीको प्रशंसा पनि गरे। उनले थपे, “कुर्स्कमा गरिएको हाम्रो अभियानले डोनेट्स्क अग्रपंक्तिमा रूसी दबाब कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।”
हाल रूसी सेनाहरूले बेल्गोरोड क्षेत्रमा यूद्ध भइरहेको दाबी गर्दै आएका छन्। यसैबीच, रूसले सुमीको बासिभका गाउँ नियन्त्रणमा लिएको बताएको छ, जुन कुर्स्कको ठीक पारिपट्टि पर्छ। तर युक्रेनी सैन्य प्रवक्ताले त्यो दाबीलाई अस्वीकार गरेका छन्।
प्रतिक्रिया