ताइवान वरिपरि चीनको सैन्य अभ्यास सुरु

इनेप्लिज २०८१ चैत १८ गते ११:५९ मा प्रकाशित

चिनियाँ सेनाले मंगलबार ताइवान वरिपरि ठूलो सैन्य अभ्यास सुरु गरेको छ। चीनको जनमुक्ति सेनाको पूर्वी युद्धक्षेत्रले सेनाको चार प्रमुख शाखा—स्थलसेना, नौसेना, वायुसेना र क्षेप्यास्त्र बल सहित संयुक्त अभ्यास गरिएको जनाएको छ।

चीनले यो कदम अमेरिका र ताइवानलाई ‘गम्भीर चेतावनी’ दिनका लागि उठाएको दाबी गरेको छ।

चिनियाँ सेनाले “असम्प्रभुतावादी ताइवान स्वतन्त्रता समर्थकहरू” विरुद्ध कडा कारबाही गर्नुपर्ने बताउँदै, समुद्री मार्गमा नाकाबन्दी गर्ने, रणनीतिक क्षेत्रमा हमलाको अभ्यास गर्ने तथा ताइवानलाई ‘चारैतिरबाट घेराबन्दी गर्ने’ अभ्यास गरिरहेको जनाएको छ।

यो सैन्य अभ्यास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका प्रथम ’ नीतिका कारण अमेरिकी विदेश नीतिमा भइरहेको परिवर्तनका बीच आएको हो। ट्रम्प प्रशासनले एसियाली साझेदारहरूलाई आफ्नै सुरक्षामा थप योगदान गर्न दबाब दिइरहेको छ।

ताइवानका अधिकारीहरूले चीनको सैन्य अभ्यासलाई “बेपरवाह र गैर-जिम्मेवार” भएको भन्दै आलोचना गरेका छन्। ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव जोसेफ वुले “यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो र पूर्ण रूपमा अस्वीकार्य छ” भनेका छन्।

ताइवानको रक्षा मन्त्रालयले पिएलए का ७१ लडाकु विमान र १३ युद्धपोतहरू नजिकै पत्ता लागेको जनाएको छ। ताइवानले आफ्ना लडाकु विमान र युद्धपोत परिचालन गर्दै क्षेप्यास्त्र प्रणाली तयारी अवस्थामा राखेको जनाएको छ।

प्रतिक्रिया