उत्तर म्यासेडोनियामा रात्री क्लबमा आगलागी : ५१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

इनेप्लिज २०८१ चैत २ गते ११:०९ मा प्रकाशित

उत्तर म्यासेडोनियाको कोचानी शहरमा रहेको रात्री क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। यो जानकारी देशका गृहमन्त्री पान्च टोशकोभ्स्कीले दिएका हुन्।

उत्तर म्यासेडोनियाको सरकारी समाचार निकाय एमआईएका अनुसार आइतबार बिहान पत्रकार सम्मेलनमा मन्त्री टोशकोभ्स्कीले घटनाको विवरण सार्वजनिक गरेका थिए।

घटनामा घाइते भएका कम्तीमा ११८ जनालाई देशभरका विभिन्न अस्पतालहरूमा लगिएको छ। देशका न्यायमन्त्री इगोर फिलकोभले घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने बताएका छन्।

स्थानीय संचार माध्यम अनुसार, आगलागी कोचानीको पल्स रात्री क्लबमा भएको हो। रात्री क्लबभित्र खिचिएको श्रब्यदृश्य (भिडियो)मा कलाकारहरु प्रस्तुति दिइरहेका थिए । सिएनएनका अनुसार अगाडि पट्टि राखिएको आतिशबाजी उपकरणबाट झिल्का निस्किरहेको थियो। ती झिल्काहरू छतसम्म पुग्दा बिस्तारै आगो फैलिएको श्रब्यदृश्य(भिडियो)मा देखिन्छ ।

पुलिसले आइतबार बिहान नै रात्री क्लबका मालिकलाई पक्राउ गरेको छ। उत्तर म्यासेडोनियाका प्रधानमन्त्री रिस्तिजन मिकोस्कीले यो घटनालाई “दु:खद र पीडादायी दिन” भनेर बताएका छन्। युरोपभरिका नेताहरूले सामाजिक सञ्जालमार्फत यस घटनाप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया