‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात भयो रामहरि खतिवडा !

इनेप्लिज २०८१ माघ २९ गते ११:४४ मा प्रकाशित

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानामगरले गरेको एउटा गल्तीले बैठक नै अवरुद्ध भयो । उपसभामुख रानाले शून्य समयको अन्त्य भएको र विशेष समयको सुरुवात भएको भन्दै सांसद रामकृष्ण यादवलाई समय दिइन् । तर, शून्य समयमा बोल्न कांग्रेस सांसद रामहरि खतिवडाले समय मागे ।

‘अब विशेष समय सुरु हुन्छ माननीय रामकृष्ण यादव …’, उपसभामुख रानाले भनिन् । त्यसपछि समय मागेका खतिवडालाई उनले भनिन्, ‘सुरु भइसक्यो । अहिले दुई मिनेटमा भन्नु ल…।’ उनले विशेष समय सुरु भएसकेको बताए पनि शून्य समयको समय खतिवडालाई दिइन् ।

खतिवडाले रास्वपा सभापति रवि लामिछानेको नाम नलिई चर्को भाषण गरे । ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने कुरा सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ– एक नम्बरलाई नबनाएर १५ नम्बरलाई प्रोमोसन गरेको । आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर कानेखुसी गरेको पनि सुन्यौँ,’ उनले भने, ‘कसले सदुपयोग गर्‍यो ? कसले दुरुपयोग गर्‍यो ? हामीले हेर्नुपर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प, लङजम्प गरियो । दुई ब्याच पछाडिकोलाई प्रोमोसन गरियो । त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्नो मान्छे लगियो, त्यसको जवाफ चाहियो ।’

खतिवडा यत्तिकैमा रोकिएनन् । उनले थपे, ‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात भयो । अदालत मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको सभामुख महोदय ?’

त्यसपति रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । उनले नियमापत्ति जनाएपछि ‘शून्य समयमा बोल्न दिन बिर्सिएको’ भन्दै उपसभामुख रानाले प्रस्टीकरण दिइन् । तर, पराजुलीले संसदको रेकर्डबाट नहटाएसम्म आफू उभिरहने बताए । ‘सचिवालयलाई अध्ययन गरी निर्णय लिन निर्देशन दिन्छु,’ रानाले भनिन् ।
यस विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए । ‘सचिवालयसँग जवाफ चाहन्छु, किन नियमावलीअनुसार नचलेको हो ?,’ पाण्डेले भने । त्यसपछि प्रतिपक्षी दलका सबै सांसदहरू उभिए ।

लगत्तै सभामुखको आसनमा सभामुख देवराज घिमिरे आफैँ आए । उनले विपक्षीहरूलाई सम्झाउन खोजे । तर, प्रतिपक्षी सांसदहरूले मानेनन् । उनीहरूले आफूहरूलाई पनि बोल्न दिन समय मागे । विपक्षी सांसदहरूलाई समय दिँदा नियमविपरीत हुने सभामुखले बताए । त्यसपछि बैठक १५ मिनेटका लागि बैठक स्थगित भयो।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया