यूएसएआईडीलाई विघटन गर्न प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै ट्रम्प प्रशासन बिरुद्ध दुईवटा संघद्वारा मुद्धा दायर

इनेप्लिज २०८१ माघ २५ गते ११:४७ मा प्रकाशित

ट्रम्प प्रशासन यूएसएआईडी (यूएसएआईडी) लाई बिघटन गर्न हस्तक्षेप गरेको भन्दै अमेरिकी विदेश सेवा संघ र अमेरिकी संघीय कर्मचारी महासंघले वाशिङ्टन डी.सी. को संघीय अदालतमा मुद्दा दायर गर्दै प्रशासनको कदम “संविधानविपरीत र अवैध” भएको आरोप लगाएका छन्।

मुद्दामा भनिएको छ कि प्रशासनको कार्यले विश्वव्यापी मानवीय संकट उत्पन्न गरेको छ, जसले गर्दा चिकित्सकीय उपचारकक्ष (क्लिनिक), सूप किचन (नि:शुल्क भोजन केन्द्र) र शरणार्थी सहायता कार्यक्रमहरू बन्द भएका छन्। निवेदकहरूले कांग्रेस मात्र यूएसएआईडीलाई विघटन गर्न सक्षम भएको दाबी गरेका छन् र प्रशासनका कार्यहरू रोक्न तथा एजेन्सीको सञ्चालन पुन:स्थापित गर्न अदालतको आदेश माग गरेका छन्।

जनवरी २०२५ मा, राष्ट्रपति डोनाल्ड ट्रम्पले “संयुक्त राज्यको विदेशी सहायता पुन: मूल्यांकन र पुनर्संरचना” (कार्यकारी आदेश १४१६९) नामक कार्यकारी आदेशमा हस्ताक्षर गरे जसले ९० दिनका लागि सबै अमेरिकी विदेशी विकास सहायता कार्यक्रमहरू रोक्ने निर्णय गर्यो।

त्यसपछि ट्रम्प प्रशासनले संघीय खर्च कटौती गर्ने उद्देश्यले इलन मस्कको “सरकारी दक्षता विभाग” को नेतृत्वमा यूएसएआईडीको कार्यबललाई करिब १४,००० कर्मचारीबाट ३०० भन्दा कममा झार्ने योजना घोषणा गर्यो।

यस कार्यले हजारौं अमेरिकी कर्मचारीहरूलाई रोजगारीबाट हटाएको छ र धेरै विकास सहायता परियोजनाहरू अवरुद्ध भएका छन्। कांग्रेसको अनुमति बिना यूएसएआईडी विघटन गर्नु संविधानविपरीत छ , मुद्दामा भनिएको छ ।

यसले विश्वव्यापी स्वास्थ्य, मानवीय सहायता, र अमेरिकी कूटनीतिक स्थितिमा गम्भीर जोखिम सिर्जना गर्ने एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया