गाजामा युद्धविरामका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा हमासले आफ्नो आधिकारिक प्रतिक्रिया दिएको छ। शनिबार अमेरिकी विशेष दूत स्टीभ विटकोफद्वारा प्रस्तावित योजना अनुसार हमासले मध्यस्थकर्तामार्फत आफ्नो जवाफ पेश गरेको हो। हमासले आफ्नो मुख्य मागहरू दोहोर्याउँदै भनेको छ — “स्थायी युद्धविराम, गाजा पट्टीबाट इजरायली सेनाको पूर्ण फिर्ता, र मानवीय सहायता अविरल रुपमा आपूर्ति हुनु जरुरी छ।”
हमासले बन्दी आदानप्रदान प्रस्तावमा १० जीवित इजरायली बन्धक र १८ मृतक बन्धकको शवहरू फिर्ता गरिने बताएको छ । सट्टामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनुपर्ने माग राखिएको छ।
यसैबी गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा ६० प्यालेस्टिनी मारिएका छन् भने २८४ जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा ५४,३८१ जनाको मृत्यु भइसकेको छ भने १,२४,०५४ जना घाइते भएको जनाइएको छ। हाल अझै २० जना बन्धक हमासको कब्जामा छन्।
अमेरिकी दूत स्टीभ विटकोफले हमासको प्रतिक्रियालाई “पूर्ण रूपमा अस्वीकार्य” भनेका छन्। उनले भने,हामीले अघि सारेको रूपरेखा स्वीकार नगरेसम्म वार्ताको वातावरण बन्न सक्दैन। यदि स्वीकार गरियो भने आउँदो सातादेखि हामी नजिकबाट सार्थक वार्ता सुरु गर्न सक्छौं ।
शुक्रबार इजरायली रक्षामन्त्री इजरायल काट्जले चेतावनी दिँदै भने, “हमासले अब विकल्प छान्नुपर्छ – युद्धविरामको प्रस्ताव ‘विटकोफ सम्झौता’ स्वीकार गर्ने कि पूर्ण रूपमा नष्ट हुने।” उनले थपे, “आईडीएफ (इजरायली रक्षा सेनाले) गाजामा पूरै बलका साथ हमासका अड्डाहरू ध्वस्त पारिरहेको छ । स्थल, हवाई र समुद्रमार्फत अभूतपूर्व आक्रमण गरि रहेको समेत उनले उल्लेख गरे ।
ह्वाइट हाउसले प्रस्तुत गरेको युद्धविराम प्रस्तावमा इजरायलले पहिल्यै समर्थन जनाइसकेको जनाएको छ ।
प्रतिक्रिया