सियाटलका न्यायाधीशद्वारा ट्रम्पको जन्मसिद्ध नागरिकताको कार्यकारी आदेशलाई अनिश्चितकालका लागि रोक

इनेप्लिज २०८१ माघ २५ गते २:१३ मा प्रकाशित

सियाटलका एक संघीय न्यायाधीशले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकताको अन्त्य गर्न गरेको कार्यकारी आदेशलाई अनिश्चितकालका लागि रोक लगाएका छन् । उनले ट्रम्पलाई संविधानसँग “नीतिगत खेल” खेल्ने प्रयास गरेको आरोप लगाए।

“हाम्रो राष्ट्रपति ट्रम्पका लागि कानूनी शासन केवल उनको नीतिगत लक्ष्यहरू पूरा गर्नका लागि बाधा बनेको छ। उनका लागि कानूनी शासन भनेको केवल छल्न वा बेवास्ता गर्न सकिने कुरा हो, चाहे त्यो राजनीतिक होस् वा व्यक्तिगत लाभका लागि,” अमेरिकी जिल्ला न्यायाधीश जोन कौगनरले बिहीबार सियाटलमा सुनुवाइका क्रममा भने।

“तर मेरो अदालतमा र मेरो निगरानीमा, कानूनी शासन एउटा उज्यालो दीपस्तम्भ हुनेछ, जसलाई म पालना गर्नेछु।” उनले भने ।

न्यायाधिशले अगाडी भने “संविधान सरकारको नीतिगत खेल खेल्ने साधन होइन। यदि सरकारले जन्मसिद्ध नागरिकताको असाधारण अमेरिकी अधिकार परिवर्तन गर्न चाहन्छ भने संविधान आफैं संशोधन गर्नुपर्छ।”

न्यायाधीश कौगनरले जारी गरेको नयाँ राष्ट्रव्यापी प्रारम्भिक निषेधाज्ञाले ट्रम्पले हस्ताक्षर गरेको आदेशलाई पहिले अस्थायी रूपमा रोक लगाएको निर्णयलाई विस्तार गरेको हो। यसैबीच, मेरिल्याण्ड राज्यका अर्का संघीय न्यायाधीशले गत बुधबार ट्रम्पको आदेशलाई रोक लगाउने छुट्टै आदेश दिएका थिए।

पूर्वराष्ट्रपति रोनाल्ड रेगनद्वारा नियुक्त गरिएको न्यायाधीशको यो फैसला ट्रम्पको जन्मसिद्ध नागरिकताको अन्त्य गर्ने प्रयास विरुद्धको सबैभन्दा कडा कानूनी झट्का मानिएको छ। ट्रम्पले हस्ताक्षर गरेको उक्त आदेश विभिन्न राज्यहरू र वादीहरूबाट कानूनी चुनौतीको सामना गरिरहेको छ।

न्याय बिभागले बिहीबार अबेर आदेश विरुद्ध पुनरावेदन गर्ने घोषणा गरेको छ ।

डेमोक्र्याटिक नेतृत्व भएका राज्यहरू र अन्य वादीहरूले दायर गरेको मुद्दामा जारी गरिएको प्रारम्भिक निषेधाज्ञा अब ९ औं अमेरिकी अपील अदालतमा पुनरावलोकन गरिनेछ। यो अन्ततः अमेरिकी सर्वोच्च अदालतसम्म पुग्न सक्छ।

गत बुधबार मेरिल्याण्डमा दायर गरिएको अर्को मुद्दामा पनि समान आदेश जारी गरिएको थियो, तर त्यस मुद्दामा न्याय बिभागले औपचारिक रूपमा पुनरावेदनको संकेत नगरेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया