दक्षिण कोरियाली बिमान दुर्घटनाका यात्रुहरूमा ३ वर्षीय बालक देखि ७८ वर्षीय वृद्ध सम्म परेका छन् । दक्षिण कोरियाको मुआनमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या फेरि बढेर १७७ पुगेको छ ।
मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दुर्घटनाग्रस्त भएको जेजु बिमानसेवाको उडानमा सवार सबैभन्दा कान्छो यात्रु तीन वर्षका बालक थिए भने सबैभन्दा जेठो ७८ वर्षीय यात्रु भएको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।
दक्षिण कोरियाको जेओला प्रान्तमा विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा एक साताको शोक मनाइने प्रान्तीय अधिकारीले आइतबार पत्रकार सम्मेलनमा बताए ।
त्यस्तै दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिले शोक व्यक्त गरेका छन् ।
दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओलले मारिएकाहरू र उनीहरूका परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन्।
जेजु बिमानसेवाको उडान बोइङ ७३७-८०० थियो । दक्षिण कोरियाका स्थानीय पत्रपत्रिकाहरुले बिमानस्थलमा बथानका बथान चराहरु उडिरहेको समाचार पनि प्रकाशित गरेका छन् । बोइङले एक बिज्ञप्ति मार्फत शोक व्यक्त गरेको र सहयोगको लागि तयार भएको जनाएको छ ।
प्रतिक्रिया