अमेरिकाको बिभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली मूलका इन्जिनियर्स (अभियन्ता)हरुको आफ्नो सँस्था अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्स मार्फत नेपालमा बाढी व्यवस्थापनको स्थिति बारे शोधपत्र पुस्तक प्रकाशित गरेको छ । र ,उक्त पुस्तक आज डिसी महानगर क्षेत्रमा बिमोचन गरिएको छ ।
एएसएनइएनजीआरले नेपालमा बाढीको पूर्वतयारी, न्यूनीकरण र प्रकोप पुन: प्राप्ति” सम्बन्धी शोध पत्र दस्तावेज(कागजात)पुस्तक एक कार्यक्रम बीच बिमोचन गर्न सफल भएको छ ।
डिसेम्बर ७ शनिबारका दिन अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स( ASNEngr)को रणनीति सम्मेलनमा उक्त पुस्तक नेपाली दुताबासका कार्यवाहक राजदुत शरद राज आरनले बिमोचन गरे । उनको साथमा आर्थिक सल्लाहकार युगराज पाण्डेको पनि सहभागिता भएको थियो ।
कार्यवाहक राजदुत शरद राज आरनले दुताबासमा पुस्तक उपलब्ध होस् भन्दै यो बारेमा आफूले नेपाल सरकारलाई राम्रो सिफारिस गर्ने विश्वस्त दिलाए । साथै उनले यहाँहरुले प्राप्त गरेको शीप आदीलाई नेपालले उपयोग गर्न चाहन्छ ।
यहाँहरुको मन उत्तै छ र नेपालसंग जोडिएको छ । यहाँहरुको बिद्ध्वतालाई जोड्ने काम हामी गर्ने प्रतिबद्धता गर्दछौ । यहाँहरुसंग नेटवर्क अर्थात् फैलाव गर्न सकिएमा नेपालले लाभ उठाउने छ ,कार्यवाहक राजदुत शरद राज आरन भने ।
एएसएनइएनजीआरको रणनीति सम्मेलनमा पुस्तक बिमोचन अगाडी संस्थाका पूर्व अध्यक्ष ,पदाधिकारी लगायतको समूहमा विभाजित टोलीले आन्तरिक रुपमा संस्थालाई अझ सशक्त र व्यापक बनाउन कार्यशाला (वर्कशप )गरि कार्यपत्र समेत टोलीले प्रस्तुत गरेको थियो । साथै उक्त रणनीति सम्मेलनमा सुझाव सल्लाह र जिज्ञाशा पनि राखिएको थियो ।
त्यस पछि ५ बजे पुस्तक बिमोचनलाई औपचारिकता दिइएको थियो । कार्यक्रम संचालन स्वयम् अध्यक्ष मंगल महर्जनले गरेका थिए भने उनले पुस्तक नेपालको लागि प्रकाशित गरिएकोले सम्बन्धित निकायमा पुर्याई दिन कार्यवाहक राजदुतलाई आग्रह गरे । उनले नेपालमा दुतावासले प्रक्रिया (मेकानिज्म )बनाई दिन निवेदन गरे ।
त्यस्तै नेपालमा बाढीको पूर्वतयारी, न्यूनीकरण र प्रकोप पुन: प्राप्ति” सम्बन्धी नेतृत्व लिएका डा उपेन्द्र लाल कर्णले उक्त पुस्तकको इतिहास देखि त्यस भित्र भएका बारेमा चर्चा गरे ।
उनले पुस्तक प्रकाशन गर्ने बिशेष व्यक्तिहरुको नामै लिदै कृतज्ञता ज्ञापन गरे । उनले सम्पादकीय मण्डलमा रहेका आफ्ना सहयोगी डा राजेन्द्र श्रेष्ठ, ललित कु झा ,नारायण पोखरेल,कन्हैया कायस्त , मंगल महर्जन , ठाकुर ढकाल ,सूर्य थापाको साथै उनले संस्थाका सबै सदस्यहरुलाई धन्यवाद समेत दिए ।
अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्सले रणनीति सम्मेलन पछि छापा बिज्ञप्ति समेत जारी गरेको छ । यस बृहत् दस्तावेजले नेपालमा बाढीका घटनाहरूको अवस्थाको विश्लेषण, तिनका कारण र प्रभावहरूको अन्वेषण गर्दछ ,बिज्ञप्तिमा भनिएको छ ।
यसले बाढी पूर्वतयारी, न्यूनीकरण, प्रतिक्रिया, र विपद् पुन :प्राप्ति (रिकभरी)का लागि हालको विधिहरू पनि मूल्याङ्कन गर्दछ ,बिज्ञप्तिमा जनाईएको छ ।
नेपाल हरेक वर्ष बाढी र पहिरोको उच्च जोखिममा छ । नेपालमा विशेषगरी दक्षिणी समतल क्षेत्रमा बाढी सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो। संस्थाका पूर्व अध्यक्ष डा कर्णको नेतृत्वमा नेपालमा बाढीको अवस्थाबारे स्थिति शोध पत्र (पोजिसन पेपर)तयार गर्ने निर्णय गरिएको थियो ।
पुस्तक नेपालमा बाढीको पूर्वतयारी, न्यूनीकरण, प्रतिक्रिया र विपद् पुन:प्राप्तिलाई सम्बोधन गर्ने तेह्र अध्यायहरूमा विभाजन गरिएको छ। यसमा विगतका बाढीको अनुभव, नेपालमा हालको बाढीको अवस्था र नीतिहरू र नेपालमा बाढीको राम्रो व्यवस्थापनका लागि सिफारिसहरू समावेश गरिएका छन् ।
नेपालमा बारम्बार आउने प्राकृतिक प्रकोपमध्ये बाढी एक हो । यो पुस्तकले बाढीको जोखिमलाई योजना र न्यूनीकरण गर्न र बाढी पछि राहत र पुनर्निर्माण प्रयासहरू कार्यान्वयन गर्न सन्दर्भ मार्गदर्शकको रूपमा काम गर्न सक्ने बताईएको छ ।
पुस्तकमा नेपालको विभिन्न भौगोलिक अवस्थाका कारण बाढी र पहिरोको अवस्थाबारे जानकारी समावेश गरिएको छ। नेपालको बाढी व्यवस्थापनको क्षेत्रमा यो पुस्तक आधारशिला हुने अपेक्षा गरिएको छ ।
यो पुस्तक प्रकाशित भए पछि नेपालका राष्ट्रपति राम चन्द्र पौडेलले शुभ कामना सन्देश पठाउदै बधाई दिएका छन् । उक्त कुरा रणनीति सम्मेलनमा अध्यक्ष महर्जनले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा संस्थाका पूर्व अध्यक्ष ठाकुर ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया