म्याग्दीमा उद्योग दर्तामा वृद्धि

इनेप्लिज २०७२ भदौ १८ गते ५:२९ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १८ भदौ । पहाडी जिल्ला म्याग्दीमा आर्थिक वर्ष २०७१/७२ मा सानो लगानीमा आधारित एक सय १३ वटा उद्योग दर्ता भएका छन् ।

दर्ता भएका नयाँ उद्योगमा करिब रु आठ करोड ४२ लाख पुँजी लगानी भएको र तीन सय २० जनाले रोजगारी पाएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । समितिमा हालसम्म नौ सय ७२ वटा साना उद्योग दर्ता भएका वरिष्ठ घरेलु उद्योग विकास अधिकृत रमेशराज रेग्मीले बताउनुभयो ।

म्याग्दीका साना उद्योगमा हालसम्म रु ४७ करोडभन्दा बढी लगानी रहेको छ । म्याग्दीमा तरकारी खेती, फलफूल, गाईभैँसी, बाख्रा, पोल्ट्री फार्मलगायत कृषिजन्य उद्योगको दर्ता बढेका छन् । यसैगरी होटल तथा रेस्टुरेस्ट, फर्निचर र सिलाइकटाइसम्बन्धी उद्योग पनि बढेका छन् ।

सरकारले उपलब्ध गराउने अनुदान सुविधाका लागि फार्म दर्ता हुनुपर्ने व्यवस्थाले गर्दा पनि कृषिजन्य उद्योगको दर्ता बढेको अधिकृत रेग्मीले बताउनुभयो । यसैगरी लगानीको वातावरण बन्नु र विभिन्न सीपमूलक तालिमपश्चात् स्वरोजगार बन्न चाहने युवाको सङ्ख्या बढ्नुले पनि उद्योग दर्तामा बढेको हो ।

बैंकबाट कर्जा लिनका लागि अनिवार्य दर्ता भएको हुनुपर्ने र होटल तथा रेस्टुरेस्ट व्यवसायलाई करको दायरामा ल्याउन थालेपछि त्यस्ता उद्योगको दर्ता हुने क्रम बढेको अधिकृत रेग्मीको भनाइ छ ।

यसैगरी म्याग्दीमा गत वर्ष एक सय ३१ व्यावसायिक फार्म दर्ता भएका छन् । हालसम्म जिल्लामा रहेका एक हजार तीन सय ५० वटा व्यावसायिक फार्ममा रु ३७ करोड ८५ लाख लगानी भएको कार्यालयले जनाएको छ । गत वर्ष व्यवसायमा रु छ करोड एक लाख ३० हजार लगानी थपिएको छ ।

उद्योग र व्यवसाय दर्ता तथा नवीकरणमार्फत कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७०/७१ मा करिब रु १६ लाख राजस्व सङ्कलन गरेकामा आव २०७१/७२ मा करिब रु ३० लाख सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया