जिल्ला नटुक्र्याउन पाँच नम्बर प्रदेशका सभासद्को सुझाव

इनेप्लिज २०७२ भदौ १४ गते ८:३१ मा प्रकाशित

काठमाडौँ, १४ भदौ । नयाँ बन्ने संविधानमा प्रस्तावित ५ नम्बर सङ्घीय प्रदेशअन्तर्गतका जिल्लाका नेपाली काँग्रेसका सभासद्ले कुनै पनि जिल्लालाई नटुक्र्याउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

संविधानसभा भवन नयाँबानेश्वरमा पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र पार्टीका पदाधिकारीसँगको छलफलमा सभासद्हरुले तत्काल कुनै पनि जिल्ला नटुक्र्याउन सुझाव दिएका हुन् ।

सभासद्हरुले प्रदेशको सीमाङ्कन मिलाउन जिल्ला टुक्र्याउनै परेपछि सङ्घीय आयोगमार्फत विस्तृत अध्ययन गरेरमात्र टुक्र्याउन सुझाव दिएको काँग्रेस सहमहामन्त्री एवम् सो क्षेत्रका सभासद् पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकमा सभासद्हरुले आदिवासी, जनजाति, मुस्लिम, मधेसी, पछिडिएका क्षेत्रका जनताको सशक्तीकरणका लागि यथाशीघ्र आयोग बनाउनुपर्ने सुझाव दिएको सहमहामन्त्री खड्काले बताउनुभयो ।

सभासद्का सुझाव सुनिसकेपछि प्रधानमन्त्री कोइरालाले यथाशक्य जिल्ला टुक्रन नदिन प्रमुख दलसँग छलफल भइरहेको बताउँदै सबैका माग सम्बोधन गर्न सकेसम्म प्रयत्न गरिने बताउनुभएको थियो ।

काँग्रेसले नयाँ संविधानमा प्रस्तावित सङ्घीय प्रदेशबारे सम्बन्धित प्रदेशका सभासद्सँग चरणबद्ध छलफल गर्दै आउने क्रममा आज ५ नं प्रदेशका सभासद्सँग छलफल गरेको हो ।

प्रतिक्रिया