बच्चामाथि दुर्व्यवहार गरेको आरोपमा नेपाली मूलका अभिभावकहरू अमेरिकाको केन्टकी राज्यमा पक्राउ

इनेप्लिज २०८० फागुन २६ गते २१:३० मा प्रकाशित

बच्चामाथि दुर्व्यवहार गरेको आरोपमा नेपाली मूलका अभिभावकहरू अमेरिकाको केन्टकी राज्यमा पक्राउ परेका छन् । अमेरिकाको केन्टकी राज्यको लेक्सिंगटनमा आमाबुवालाई २ महिनाको बच्चा घरभित्र मृत फेला परेको केही महिनापछि गिरफ्तार गरिएको हो ।

अमेरिकाको फक्सन्यूज५६ ले जनाए अनुसार सन् २०२३ को जुन महिनामा दुई महिने बच्चाको मृत्युको सन्दर्भमा अनुसन्धान र शवपरीक्षण (पोस्टमार्टम)को आधारमा अहिले आएर बच्चामाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ ।

फक्सन्यूज५६का अनुसार जुन २५ ,२०२३ का दिन बेलुका ७:५० बजे प्रहरीहरुले सेन्टर पार्कवे स्थित ११०० घर समूहमा रहेको एउटा घरमा प्रहरीहरु त्यहाँ पुगे पछि एक शिशुलाई मृत अवस्थामा फेला पारेका थिए ।

समाचार अनुसार थप अनुसन्धान र शवपरीक्षण (पोस्टमार्टम) पछि शिशुको अनुहार, हात र खुट्टामा धेरै टोकाइका निशानहरू थिए । साथै आँखा र टाउकोमा चोट र रगत बग्ने सहित धेरै आन्तरिक धेरै चोटहरू पाईएका थिए।

लेक्सिङ्टन प्रहरीसँगको अन्तर्वार्तामा बालककी आमा रहरमाया राईले आफ्नो ४ वर्षीया बालकलाई शिशुसँग एक्लै छोडेको स्वीकार गरेकी थिइन् । गिरफ्तार भएकी राईले आफ्नो बच्चाको उपचार गर्न नचाहेको समेत समाचारमा उल्लेख छ ।

बच्चाका बुबा छेन्द्र मगरले बच्चासँग घरमा हुँदा हरेक दिन रक्सी पिउने गरेको स्वीकार गरेका थिए । अदालतको कागजात अनुसार उनले बच्चाको चोटपटक कहिले पनि याद नगरेको समाचारमा जनाईएको छ ।

मगर र राईलाई दोश्रो श्रेणी (सेकेन्ड-डिग्री)को बाल दुर्व्यवहारको आरोपमा गिरफ्तार गरिएको छ । समाचार अनुसार उनीहरूलाई १ लाख डलरको धरौटीमा फायएट काउन्टी कारागारमा राखिएको छ । उनीहरु अदालतमा बिहीबार पेस हुनेछन । गत बर्ष उक्त घटना भएता पनि सबै अनुसन्धान गर्दा उनीहरुनै दोषी फेला पारिएकोले उनीहरुलाई हालसालै पक्राउ गरिएको हो ।

तस्बिर कृतज्ञता : फक्सन्यूज५६

प्रतिक्रिया