अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलासमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आइसिइ) ले शुक्रबार लस एन्जलसका विभिन्न व्यवसायमा छापा मार्दा ४५ भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। फक्सन्यूजले जनाए अनुसार होम डिपो, कपडा पसल र एक डोनट पसल सहित सात स्थानमा गरिएको यो छापाले स्थानीय स्तरमा आक्रोश र प्रदर्शन निम्त्याएको छ।
आईसिइको यो कदमले खासगरी डेमोक्र्याट नेताहरू र आप्रवासी अधिकारकर्मीहरूलाई आक्रोशित बनाएको छ। एसइआइयु क्यालिफोर्नियाका अध्यक्ष डेविड ह्वेर्टालाई शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ गरिएको थियो। उनीमाथि संघीय गुप्तचको काममा बाधा पुर्याएको आरोप लागेको छ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले ह्वेर्टालाई “देशभक्त र मजदुर वर्गको सच्चा पक्षपाती” भन्दै घटनाको निन्दा गरे। एसइआइयुले भने, “आइसीइले गलत व्यक्ति, गलत राज्य र गलत संघ रोज्यो। अहिले ७५०,००० श्रमिकहरू ह्वेर्टासँग उभिएका छन्।”
स्थानीय पत्रपत्रिका र सामाजिक संजाल भरि श्रब्यदृश्य (भिडियो )को साथै तस्बिरहरुमा मानिसहरूलाई पक्रिएर दुई ठूला सेता गाडीमा लगिएको देखिन्छ। केहीलाई तुरुन्तै मेक्सिको फिर्ता पठाइएको पुष्टि पनि भएको छ। एकजना व्यक्ति, जसलाई होम डिपोबाट पक्राउ गरिएको थियो, अदालतको पहुँचमा आउन नपाउँदै नै निर्वासित गरिएको छ।
संघीय अधिकारीहरूले भने, छापा अवैध आप्रवासीहरूलाई लुकाइराख्ने र नक्कली कागजात प्रयोग गर्ने कम्पनीहरू विरुद्ध गरिएको हो।
तर स्थानीय र राज्य सरकारका अधिकारीहरूले संघीय गुप्तचरहरूको हिंसात्मक कार्यशैली र पारदर्शिताको अभाव प्रति गम्भीर आपत्ति जनाएका छन्।
आइसिइ बाहिर जाओ भन्ने नारासहित सयौं प्रदर्शनकारीहरू संघीय थुनुवा केन्द्रबाहिर भेला भएका थिए। अधिकारीहरूले भिड तितरबितर पार्न धुवा बम र समेत प्रयोग गरेका थिए।
यो घटनाले ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिमा पुनः बहस ल्याएको छ।
प्रतिक्रिया