प्रचण्ड देउवा ओली माकुने
यी र यस्तै नेता पाएकै छौँ
पुराना देखी नयाँ जोगी सम्मको
पछि पछि आरती उतार्न लाएकै छौँ
प्यारो हर्क, हर्के हल्दार बन्दा पनि
बिचरा ढुङ्गा बोक्ने मेयर भन्दै
उनकै गुणगान गाएकै छौँ
लोकतन्त्र, गणतन्त्र, सङ्घीयताको
साह्रै मिठो फल खाएकै छौँ
हामी कति भाग्यमानी,
विरोध किन गर्नु नजानी नजानी !
ज्योति मगरहरू उफारेकै छौँ
स्टेजमा परे परोस् भ्वाङ
अङ्ग प्रदर्शन र तिघ्रा दर्शन
कला होइन चर्तिकला हेर्दै
सब छौँ मक्ख किन पार्नु स्वाङ !
किन चाहिए बुद्ध,
किन चाहिए राम ?
राक्षसहरू राज गर्छन्,
सज्जनको नभए पनि कुनै काम
धमलाको हमलामा
पत्रकारिता चलेको चलै छ हाम्रो
विदेश गएका पाखुराहरू,
रगत र पसिना सँग पैसा साट्छन्
रेमिटेन्स फलेको फलै छ हाम्रो
हामी कति भाग्यमानी
विरोध किन गर्नु नजानी नजानी !
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया