तिमी साँच्चै फर्किंदैनौ र प्रिय !?

जगन्नाथ पौडेल २०८० माघ २ गते २३:०३ मा प्रकाशित

तिमी लुकेको क्षितिज 

उही नीलो सम्झना बगिरहन्छ आकाशतिर

छिचोलेर गहिरो अभाव

पुर्याउँछ पर्दा बन्द भएर

विगतको जालो उडिरहेको नाट्यघरमा

डाँडाको टुप्पोमा फक्रेका सेता
कपासेभुवाहरू

तिम्रै चित्र बनाउँछन् 

मेरो छातीको क्यानभास सम्झेर

अनि बहले रुझेको काउकुती लगाउँछन् 

मेरा हातका रेखाहरूमा 

ब्युँझाएर भाग्छन् 

खाटा बसेका पुराना घाउहरू

जब छुन खोज्छु

तिम्रा प्रीतिका प्वाँखहरू 

तिनले गाउँदैनन् प्रेमका सुकिला
सुरहरूमा

हाम्रो पुरानो प्रेमगाथा

आउँदैन तिम्रो छाया बिछ्यौनामा 

पिरतीका संयोगान्त कथा भरिएको 

पुस्तक  समाएर

बस गौंथली-संझनाहरू ओहोरदोहोर
गरिरहन्छन्
 

शून्य कोठीमा चुपचाप बसेका 

रोमियोजुलियट कथाका पृष्ठहरूमा

तिमीले पुछेका 

मेरा आँखाका रेखाहरू

दशैं पर्खेर बसेका घरका भित्तारूझैं

भत्किरहन्छन्

यादका बर्सातहरूले रुझेपछि

कोतरिरहन्छन् तिनको अनुहार

अत्यासका तिखा सिउँडीहरूले

र चिरा पार्छन् 

तिनका सुकेका ओठहरू

तिम्रा हातहरू

आउँदैनन् आजकल 

दहीचिनी मिसिएका अक्षताझैं

छोइने टाँसिने भएर 

मेरो विश्वासभरिको निधारमा

र खाली पारेर जान्छन् 

हाम्रो हाँसो लुकाएको मुदुसको पोको

छैनन् आजकल मेरा औंलाहरूसँग

लगनगाँठोझैं कसिन आउने 

ती विश्वासले पुजिएका औंलाहरू

सम्झिन्छन् यी हत्केलाहरूले 

ती हातहरू र 

कुप्रिएर ऐना हेर्छन् 

मेरो भरोसामा झुन्डिएका

मेरै आँखाअगाडि उभिएर

खोपीको दियोमा तेल सकिएझैं

मेरो मनको बत्ती मलीन छ प्रिय 

शान्त्वनाको तेल थप्ने तिम्रा 

कोमल ध्वनिहरू आउँदैनन् 

ती एक्लै पर्खेर बसेका सम्झनाका
झ्यालहरूबाट
 

घर छेडेको खोपी आजकल

चिसो बतास मात्र बोकेर आउँछ

पुग्दैनन् तिम्रा पैतालाका छापजस्ता

मिलनका भाकाहरू

तिम्रै आवाजको तिर्खा खेपिरहेका 

मेरा जोर कानहरूसम्म

बचेराहरू 

पुरानो बिछौनी मन पार्दैनन् आजकल

घर सर्ने बहानामा 

मन उतै लिएर भागिरहन्छन्

म हेरिरहन्छु उनीहरूका पैताला

तर

उनीहरूसँगै जोडिएर जान्छ 

सम्बन्धको तिलमिले छाया 

प्रिय

फगत म एक्लो यात्री 

कहाँ पुग्न सकूँला र

तिम्रो उपस्थितिको ऊर्जाबिना …?

के तिमी फर्केर आउँदैनौ र

उही पुरानो झिलमिले अनुहारमा 

के छुन पाउँदिनँ म अब तिम्रो पूर्ण
अवतार

म पोखिन पाउँदिनँ तिम्रो सामु

मेरा आँखाहरू रित्ताएर

तिमी मेरै वरिपरि 

यादगारमा मात्र हुन्छौ त अँगाल्न
नमिल्ने गरी

तिम्रो सुडोल अनुहार 

तिम्रो भूगोल प्रेम

कस्ले लगिरहेछ खोसेर प्रिय ?

अझै बल्झिरहेछन् चोटहरू भने

चाहिंदैन पुरानै फक्रेको अनुहार

बस 

तिमी हौ भन्ने एक विश्वास श्यामश्वेत
छाया भए पुग्छ
 

छाया हुनु 

तिमी हुनु न हो!

तिमी हुनु म हुनु न हो !!

तिमी साँच्चै फर्किंदैनौ र प्रिय !?

जगन्नाथ पौडेल

 – अमेरिका

 

 

प्रतिक्रिया