दुई व्यक्तित्वहरू आत्मसम्मान पुरस्कारबाट सम्मानित
एड्वान नेपालकोरूपमा परिचित नेपाल दलित महिला उत्थान संघ (एड्वान) को रजत जयन्ती १९९८-२०२३ समारोह काठमाण्डौंमा शनिवार सम्पन्न भएकोछ।
विगत पच्चीस वर्षमा एड्वानको जातीय छूवाछूत विभेद अन्त्यको निम्ति सामाजिक रूपान्तरणको अभियानबाट डेढ लाख दलित र सीमान्तकृत जनता लाभान्वित भएकाछन्। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथि रहेको रजत जयन्ती समारोहमा एड्वानकी संस्थापक अध्यक्ष एवं सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा स्थापित फाउण्डेसनले एड्वानसंगको सहआयोजनामा पहिलो “आत्मसम्मान Dignity Award” पुरस्कारबाट जातीय विभेद र छुवाछूत विरूद्धको अभियानका अग्रणी व्यक्तित्वहरू लेखक एवं विचारक संजिव कार्की र सामाजिक अभियन्ता रामकुमारी दासलाई कदरपत्र र जनही रू. ५० हजार राशीको नगद पुरस्कारसहित सम्मान गरिएकोछ।
एड्वानकी अध्यक्ष विन्दू परियार थापाको सभापतित्वमा सम्पन्न रजत जयन्ती समारोहमा अतिथि वक्ताहरूले नेपालमा सबै प्रकारका विभेद अन्त्यका लागि उत्पीडित समुदाय, आदिवासी र सीमान्तकृत जनता बीच एकता हुनुपर्ने कुरामा जोड दिए।
प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले दलितले सदियौँदेखि भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्या समाधान गर्दै उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक विकासमा जोड दिनुपर्ने बताईन्, “आफैँले बनाएको मन्दिरमा आफैँ प्रवेश गर्न नपाउने, आफैँले बनाएको थालहरूमा आफैँले खाना खान नपाउने, त्यहाँ पनि विभेद हुने, यो मान्छेमान्छे बीचको विभेद, छुवाछूतको जुन विभेद छ, यसलाई दलितले मात्रै आवाज उठाउने होइन, सम्पूर्ण जातिले आवाज उठाउनुपर्छ।”
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि राज्यले नै अभियान सञ्चालन गर्नु पर्ने बताए ।
एड्वानकी संस्थापक तथा संरक्षक डा. विष्णुमाया परियारले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायलाई शैक्षिक रुपमा अगाडी बढाउनु पर्ने बताईन् ।
पूर्व राजदूत पदम सुन्दास, सभासद विनोद पहाडी र सभासद निरा जैरुले दलित समुदायको प्राप्त अधिकार पनि गुम्ने खतरा बढ्दै गएको भन्दै अधिकार सुनिश्चितताका लागि दलित समुदायबीच एकता हुनुपर्नेमा जोड दिए ।
एड्वानकी अध्यक्ष विन्दु परियार थापाले महिला र पुरुषबीत समानताका लागि महिलाहरुलाई आर्थिक रुपमा बलिया बनाउने उद्देश्यले एड्वानले जिविकोपार्जन कार्यक्रमलाई शसक्त रुपमा अगाडी बगाएको बताईन् ।
रजत जयन्ती समारोहका अन्य वक्ताहरूमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य लिली थापा, संविधानसभा सदस्य तथा सल्लाहकार मा. विनोद पहाडी, प्रतिनिधिसभाका सदस्य मा. शिव नेपाली, राष्ट्रिय दलित आयोगका मा. अध्यक्ष देवराज विश्वकर्मा, आदिवासी जनजाति आयोगका मा. अध्यक्ष रामबहादुर थापा मगर, राष्ट्रिय महिला आयोगकी मा. अध्यक्ष कमला पराजुली, पीस कोरका निर्देशक ट्रोए, जर्मन दूतावासकी प्रतिनिधि लिड्या विल्याण्ड्, युएस्एडकि प्रतिनिधि सुमित्रा मानन्धर, जर्मा संस्था कुर्भ वुस्ट्रोभका प्रतिनिधि पिटर डिजेल, बहाराईनका लागि नेपाली पूर्व राजदुत पदम सुन्दास, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, अमेरिकाका लागि नेपालका अवैतनिकदुत तथा गायक प्रेमराजा महत र व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष कमला हेम्चुरी थिए ।
जातिय तथा लैंगिक भेदभावको दोहोरो शोषणमा परेका वा पारिएका नेपाली दलित महिलाको सशक्तिकरण गरी उनीहरुलाई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराई आत्मनिर्भर तथा स्वावलम्बी वनाउनका लागि बिसं. २०५५ सालमा एड्वानको स्थापना भएको हो ।
प्रतिक्रिया