सरकारले सुन तस्करीलगायतका काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : नेता कोइराला

इनेप्लिज २०८० भदौ ७ गते १२:५२ मा प्रकाशित

जनकपुर, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारले भ्रष्टाचारका घटनामा गम्भीर ढंगले अनुसन्धानमा लागेको दाबी गरेका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी लगायतका काण्डहरू सूक्ष्म रूपले अनुसन्धान गरेको दाबी गरे ।

उनले भने, ‘वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी लगायतका काण्डहरू सूक्ष्म रूपले अनुसन्धान गरिरहेको छ ।

मुलुकमा भइरहेको वर्तमान घटनाहरूले मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा नराम्ररी बिग्रेको छ, नेपाली कांग्रेसले अभिभावकत्व ग्रहण नगरे दिन प्रतिदिन छवि खराब हुँदै जान्छ ।’

उनले नेपाल अहिले चिनियाँ, भारतीय र युरोपियन मुलुकका तस्करहरूको अखडा र ट्रान्जिट पोइन्ट बनेको टिप्पणी गरे ।

उनले वर्तमान सरकार विघटन हुने सम्भावना नरहेको बताउँदै प्रचण्ड नेतृत्वको सरकार तत्काल परिवर्तन नहुने बताए ।

उनले मुलुकमा रोजगारको वातावरण बनाउन नेपाली कांग्रेस एक उत्तम विकल्प मात्र रहेको प्रस्ट पारे।

प्रतिक्रिया