गाउँमा खोला

इनेप्लिज २०७२ भदौ ३ गते १४:१६ मा प्रकाशित

विराटनगर, ३ भदौ । मोरङको मधुमल्ला–५ को मानव बस्तीमा खोलाको पानी आज पस्दा ५६ परिवार विस्थापित भएका छन् ।

करिब पचास बिघामा रोपिएको धानबालीमा समेत क्षति पुगेको छ । बक्राहा खोलाले तटबन्धको तल्लो भागलाई भत्काएर गाउँमा पानी पसेको हो । एक महिनाअघि सो ठाउँमा तटबन्ध भत्किँदा व्यापक रुपमा क्षति भएको थियो । दुवैतर्फ खोला बगेर टापुका रुपमा परिणत भएको सो वडामा ८५ परिवार बसोबास गर्छन् ।

तटबन्ध मर्मत गर्ने क्रममा तटबन्धको तल्लो भागमा केही स्थानीय व्यक्तिबाट अवरोध भएकाले मर्मत कमजोर भएका ठाउँलाई भत्काएर पानी पसेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

सो कार्यालयका प्रमुख भिलानन्द यादवले उक्त स्थानमा मर्मतसम्भारका लागि कार्यक्रम स्वीकृत नभएको र बजेट पनि नरहेकाले तटबन्ध निर्माण गर्न कठिनाइ उत्पन्न भएको बताउनुभयो ।

यसैबीच विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा राखिएको र कतिपय परिवार आफन्तका घरमा बास बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया