न्यूजर्सीका पूर्व गभर्नर तथा अमेरिकी राष्ट्रपतिका उम्मेदवार क्रिस क्रिस्टीले अप्रत्यासित रुपमा युक्रेनको भ्रमण गरेका छन् । आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन दलका अमेरिकी राष्ट्रपतिका उम्मेदारको यो दोश्रो भ्रमण हो ,यस अघि पूर्व उपराष्ट्रपति माइक पेन्सले भ्रमण गरेका थिए ।
क्रिस क्रिस्टीले गत शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कीभको अप्रत्याशित यात्राको क्रममा भेट गरेका छन् । क्रिस्टीले राष्ट्रपतिको दरबारमा जेलेन्स्कीसँग भेटे र उनले युक्रेनमा अमेरिकी सहायता बढाउनको लागि आफ्नो समर्थन दोहोर्याएका छन् ।
म युक्रेनलाई थप पर्याप्त सहायता गर्न चाहन्छु र तपाईलाई युद्ध जित्न मद्दत गर्न चाहन्छु, उनले भने । क्रिस्टीले मोस्चुन र बुचाको पनि भ्रमण गरे ।
क्रिस्टीले सामूहिक अन्त्येष्टि स्थलको भ्रमण गर्नु अघि बुचाका नगर प्रमुख अनातोली फेडोरुकसँग हात मिलाए । उक्त नगरमा १,००० भन्दा बढी सर्वसाधारणको मृत्युको सम्बन्धमा रुसलाई युद्ध अपराधको आरोप लगाइएको छ।
गत जुन महिनामा राष्ट्रपतिको दौडमा उम्मेदवारको घोषणा गरेका क्रिस्टीले छिट्टै आफूलाई सबैभन्दा आक्रामक रूपमा ट्रम्प विरोधी रिपब्लिकन दौडमा स्थापित गरेका छन् । अन्य उम्मेदवारहरुले उनि जस्तै खुलेर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरोध गर्ने हिम्मत गरेका छैनन ।
सर्वेक्षणमा उनि अन्य उम्मेदवार भन्दा कम अंक पाई रहेका छन् भनि सिएनबिसीले जनाएको छ । न्यूयोर्क टाइम्सले गरेको एक सर्वेक्षणमा रिपब्लिकन दलका अहिले सम्म मैदानमा उत्रिएका ७ जना उम्मेदवार मध्ये पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अग्र पंक्तिमा रहेका छन।
तस्बिर कृतज्ञता : सामाजिक संजाल जेलेन्सकी
प्रतिक्रिया