सुन भनम सुन्दैनस् काना
तेरै नामका यी तानाबाना
नसुनम भनम् सुनाइ हाल्छन्
तेरै लागि जिवन फाल्छन्
नसुने पनि देख्छस् र आँखा?
भेटिन्नस् कहिल्यै लाखा र पाँखा
गुन भनम नुन जति छैन
तै पनि किन्न सकिने हैन
मौका – मौकामा पित्तल नि बन्छस्
अरुले बनाउछन् कि तैँलेइ भन्छस्
पित्तल भन्दै ढाँटछस् किन ?
जब आऊछन् जाँच लिन
ढाँट भए नि छस् मनकारी
त्यहिँ भएर त बाेक्छन् भारि
भरियालाई नि बनाउछस् मालिक
मालिक जब हुन्छ शालिक
तोलामा त्याउनेले राजश्व तिर्छन्
क्विन्टलका क्विन्टल त्यसै छिर्छन्
नभइदेन सुन तँ गरीब मारा
गरिब दुश्मन धनी प्यारा
अपबित्र भँनु सुनपानी छर्छन्
पबित्र भँनु जे पनि गर्छन्
पेट भित्राट नि बाहिर आउछ
त्यहि सुन ल्याएर मान्छेले लाउछ
सोच्दैनन् कोही कहाँबाट खस्यो
चोखो बनेर औँलामा बस्यो
त्यहि औँठी लाएर भन्सामा जान्छन्
मिठो मान्दै चाट्दै खान्छन्
हातमा अनि दाँतमा नि बसिस
प्वाल पारेर नाकमा पसिस
नाकमै बस्दा नि तँ नगन्हाउनि
खोजी – खेजी तैँलाइ लाउनि
मान्छेको त भयो रे बिबेक बन्द
कुकुरले नि पाएन गन्ध
गन्हाउन्नस् कहिल्यै जहाँ गए पनि
पुजै गर्छन् चोखो भनि
मेशिनमा हाल्दा नि गन्हाउन्नस तँ
दङ्ग परि सोच्छु म
चोखै होस कि चोखो बनाए
तँ गन्हाइनस् मान्छे गन्हाए
-अर्जुन राज पन्त बाग्लुङ मुलपानी
(ब्यङ्ग्य कवि पहिलो ब्यङ्ग्यकाब्यकार समेत हुन उनको ‘कोइली’ ब्यङ्ग्यकाब्य प्रकाशित छ)
प्रतिक्रिया