लन्डन (जीएनएन) – योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानका संस्थापकद्वय, गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपाल, बेलायत आइपुग्नु भएको छ।
नेपालबाट आउनु भएका गुरुद्वयसहित गुरु माँ देवी शर्मा तथा किरण रुपाखेतीलाई शुक्रबार बिहान हिथ्रो विमानस्थलमा जीवन विज्ञान यूकेका ट्रष्टीहरु सरिता शर्मा, काउन्सिलर जित रानाभाट, प्रेम खड्का, तुलसी पौडेल लगायत अन्य सदस्यहरुले स्वागत गरेका थिए।
जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माका अनुसार जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले दक्षिण पूर्वी लन्डनमा जुलाई २३ देखि जुलाई २९ सम्म बेलायतमै पहिलो पटक ‘चक्र विज्ञान’ प्रशिक्षण संचालन गर्नु हुनेछ।
हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने जीवन विज्ञान यूकेले जनाएको छ।
प्रशिक्षक शर्माले झन्डै तीन साता लामो बसाईका क्रममा गुरुद्वयले बेलायतका विभिन्न स्थानमा योग तथा ध्यान शिविरहरु संचालन गर्ने जानकारी दिइन् ।
उनले जीवन विज्ञान यूकेले बेलायत तथा युरोपमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरुका लागि दैनिक योग तथा ध्यान कक्षा, स्वसंवाद प्रशिक्षण लगायत कार्यक्रमहरु संचालन गर्दै आएको बताइन्।
उनले प्रवासमा हुर्कीरहेका नेपाली किशोर किशोरी तथा युवाहरुलाई लक्षित गरेर पनि विभिन्न कार्यक्रम संचालन भइरहेको बताइन्।
https://www.jeevanvigyanuk.org/ मा गएर चक्र विज्ञान प्रशिक्षणबारे थप जानकारी प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया