पहिरोले थप बत्तीस परिवार विस्थापित

इनेप्लिज २०७२ साउन २७ गते ४:११ मा प्रकाशित

भीमदत्तनगर, २७ साउन । पहिरोमा परी एकै परिवारका पाँचसहित छ जनाको ज्यान लिएको डोटीको डौड गाविस–३ मा आएको पहिरोले थप ३२ परिवार विस्थापित भएका छन् ।

सोमबार रातिदेखि आइरहेको पहिरोका कारण यहाँका ३२ परिवार हालसम्म विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । एक्कासि गाउँ माथिबाट खसेको पहिरोले गाउँ प्रभावित बनेको बताउँदै जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर चन्दले स्थानीय प्रहरी चौकी मङ्गलबारदेखि उद्धार तथा शव उत्खननमा जुटेको जानकारी दिनुभयो ।

डोटी सदरमुकामबाट १० घन्टाको पैदल दूरीमा रहेको पहिरोस्थलमा कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको उहाँले जानकारी दिनुभयो । “अहिले गाउँको क्षति विवरण ६ जनाले ज्यान गुमाएको बाहेक चौपाया र धनमाल क्षति पुगेको खबर आएको छ”, चन्दले भन्नुभयो, “पूरै गाउँ नै पहिरोमा परेको आशङ्कासमेत गरिएको छ ।”

पहिरोपीडितलाई गाउँका सरकारी विद्यालयमा सारिएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया