कसको कविता लेखौँ?

कोमल अधिकारी,टिकापुर,कैलाली (हाल,जनकपुरधाम) २०७९ फागुन ६ गते १६:१२ मा प्रकाशित

रनभुल्लमा छु,
खै कसको कविता लेखौँ…
‘भन्ने’ को लेखौँ कि ‘गर्ने’ को,
‘दाहाल बाबु’को लेखौँ कि ‘ड्याल बौ’को,
पछाडि बा हुनेको कि अगाडि हुनेको,
कि बा नै हुन नखोज्नेहरूको?
बैङ्कको नाफाबारे लेखौँ कि,
‘प्रेम प्रसादहरू’को….
आत्महत्या गर्ने कायरहरूको कि
कायर बनाउने सामाजिक व्यवस्थाको?
मन्दिरभित्र माग्नेको कि
बाहिरै हात थाप्नेको,
खै कसको लेखौँ लेखौँ…
पप्पीको डेट एक्सपायर्ड बिस्किट
फाल्ने मास्टरको बारे त के लेख्नु र,
तर, त्यहि बिस्किट डस्टबिनबाट
निकालेर खाने नानी-बाबुको लेखौँ?
टिप्स दिने तर, मकै पोल्नेसँग
बार्गेनिङ गर्ने कारसबारबारे लेखौँ कि,
रापिएर कार सबारलाई छुट दिने आमाको?
पि.आर. लिने देशभक्त बारे लेखौँ कि,
देशलाई स्वर्णिम बनाउन खोज्ने अ.त. को?
दाइजोको लागि मर्ने डिग्रीधारीको लेखौँ कि
मुना-मदन/लैला-मजनुको?
धान उब्जाउनेको लेखौँ कि,
त्यही धान किनेर दोब्बरमा बेच्नेको?
भन्दिनुस्न हजुर कसको कविता लेखौँ?
‘स्वाबलम्बन’ कि ‘गणेश प्रवृत्तिको’ ????

-कोमल अधिकारी,टिकापुर,कैलाली
           (हाल,जनकपुरधाम)

प्रतिक्रिया