परशुराम श्रेष्ठ स्मृति पालुङटार नगरपालिका स्तरीय अन्तर मा. वि. हाजिरीजवाफ प्रतियोगिता २०७९ सम्पन्न

इनेप्लिज २०७९ माघ १८ गते ११:१४ मा प्रकाशित

माघ १६, २०७९ पालुङटार, गोरखा। श्री लक्ष्मी माविका पूर्व प्रधानाध्यापक स्व. श्री परशुराम श्रेष्ठको स्मृति तथा शहिद दिवस २०७९ को अवसरमा नगरपालिका भित्रका विद्यार्थीहरुमा स्वच्छ शैक्षिक प्रतिस्पर्धा गराई आपसी भाइचारा सम्बन्ध विकास गराउने उद्देश्यले श्री परशुराम-शारदा श्रेष्ठ प्रतिष्ठान तथा श्री लक्ष्मी मा. वि. गाईखुरको संयुक्त आयोजनामा पालुङटार नगरपालिका स्तरीय अन्तर मा. वि. हाजिरी जवाफ प्रतियोगिता २०७९ लक्ष्मी माविमा सम्पन्न भयो। नगरपालिका भित्रका १० विद्यालयहरूले भाग लिएका उक्त प्रतियोगितामा अमरज्योति जनता मावि, लुइँटेल प्रथम, आयोजक लक्ष्मी मावि, गाईखुर द्वितीय र जनता मावि, आँपपिपल तृतिय स्थान हासिल गर्न तथासफल भयो। त्यस्तै युनाईटेड इङ्लिस बोर्डिङ स्कूल, ठाँटीपोखरी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो।

राष्ट्रिय गान पश्चात देश र जनताको लागि प्राण आहुति दिने ज्ञात अज्ञात शहिदको सम्मानमा मौन धारण तथा स्व. श्रेष्ठको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको शुरूवात गरिएको थियो। तीन विभिन्न चरणमा प्रतिस्पर्धा गराईएको सो प्रतियोगितामा हरेक विद्यालयका ३-३ जना विद्यार्थीहरूले भाग लिएका थिए।


प्रतियोगिता सम्पन्न पश्चात श्री लक्ष्मी मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला बि. क. को सभापतित्वमा पुरस्कार वितरण समारोह शुरू भएको थियो। आयोजकहरूका तर्फबाट श्री लक्ष्मी मा वि का प्र. अ. राजन भट्टराईले प्रतियोगितामा उपस्थित सम्पूर्ण विद्यार्थी, शिक्षकहरू तथा अभिभावकहरू र आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै प्रतियोगितामा विजयी विद्यार्थीहरू र विद्यालयहरूलाई बधाई ज्ञापन गर्नुभयो। प्रमुख अतिथि पालुङटार नगरपालिकाका मेयर विवस चिन्तन (अजय) ले विजयी विद्यार्थी तथा विद्यालयहरूलाई शिल्ड तथा वडा नं. ६ का वडाध्यक्ष चेत बहादुर गुरुङले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । त्यस्तै प्रतिष्ठानका उपाध्यश्र रन्जन वावु श्रेष्ठले सहभागी विद्यालय तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

प्रमुख अतिथि विवस चिन्तन (अजय) ले स्व. परशुराम श्रेष्ठको व्यक्तित्व बारे बोल्दै उहाँले जीवन पर्यन्त शिक्षा क्षेत्रमा दिनुभएको योगदानबारे प्रकाश पार्नु भएको थियो। त्यस्तै श्री लक्ष्मी माविका भूतपूर्व शिक्षक तथा प्रतिष्ठानका सल्लाहकार गोविन्द वराकोटीले स्व. परशुराम श्रेष्ठले गोरखा जिल्लाको शैक्षिक उन्नयनमा योगदान गर्नुभएको कुरा स्मरण गराउँदै भविष्यका कर्णधार विद्यार्थीहरूलाई स्वच्छ शैक्षिक प्रतिस्पर्धा गराई आपसी भाइचारा प्रवर्धन गर्ने प्रतिष्ठानको प्रयासको सराहना गर्नुभयो। विभिन्न विद्यालयबाट आउनुभएका शिक्षक प्रतिनिधिहरुले पनि मन्तब्य दिदैं प्रतिष्ठानको यस्तो कार्यक्रमको सराहना गर्नुभएको थियो।
सो पुरस्कार वितरण समारोहमा श्री परशुराम-शारदा श्रेष्ठ प्रतिष्ठानका सचिव हितकाजी श्रेष्ठले स्व. परशुराम श्रेष्ठले गोरखा जिल्लाको शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै भविष्यमा पनि प्रतिष्ठानले यस्तै कार्यक्रम गर्दै जाने छ भन्ने विश्वास व्यक्त गर्नुभयो। सम्पूर्ण सहयोगी ब्यक्ति, ब्यक्तित्वहरु तथा संस्थाहरुलाई हार्दिक धन्यवाद दिनुभयो। भविष्यमा समेत प्रतिष्ठानका विभिन्न कार्यक्रमहरूमा समेत हातेमालो गरी स्थानीय शिक्षा, स्वास्थ्य, कृषि तथा वातावरण प्रवर्धन गर्न सके स्व. परशुराम श्रेष्ठ प्रति सच्चा श्रद्धाञ्जलि हुने वताउनुभयो। त्यस्तै आफ्ना अग्रजहरुले थालेको सामाजिक कार्यमा नयाँ पिँढीको पनि उत्तिकै सहभागिता र आवश्यकता महशुस गरी सो कार्यक्रमलाई स्व. श्रेष्ठका नाति किरण श्रेष्ठले आर्थिक सहयोग प्रदान गर्नुभएकोमा वहाँलाई धन्यवाद ज्ञापन दिनुभएको थियो।

कार्यक्रममा श्री परशुराम-शारदा श्रेष्ठ प्रतिष्ठानबाट श्री लक्ष्मी माविका दुई छात्र र दुई छात्राहरुलाई वर्षेनी प्रदान गरिने छात्रवृत्ति पनि प्रमुख अतिथिको हातबाट वितरण गरिएको थियो। सो पुरस्कार वितरण कार्यक्रम श्री लक्ष्मी मा. वि. का शिक्षक रमेश रोकाले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया