तेह्र विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना

इनेप्लिज २०७२ साउन २५ गते ४:४१ मा प्रकाशित

प्यूठान, २५ साउन । गुणस्तरीय शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत जिल्लाका १३ वटा विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना भएका छन् ।

जिल्ला शिक्षा कार्यालय प्यूठानले गुणस्तरीय शिक्षामा सहयोग पु¥याउन भन्दै जिल्लाका १३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको हो ।

रु ४६ लाख आर्थिक अनुदानमा शिक्षा कार्यालयले छ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र सात वटा विद्यालयमा पुस्तकालय स्थापना गरेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रयोगशाला र पुस्तकालय स्थापनाले शिक्षण सिकाइ क्रियाकलापसँगै शैक्षिक उपलब्धि पनि वृद्धि हुने लक्ष्य राखिएको छ ।

शिक्षा कार्यालयले जिल्लाका छ वटा विद्यालयमा प्रयोगशाला स्थापनाका लागि प्रतिविद्यालय रु छ लाख ५० हजार र पुस्तकालय स्थापनाका लागि प्रतिविद्यालय रु एक लाख आर्थिक अनुदान दिएको छ ।

प्रयोगशाला स्थापनाका लागि माण्डवी उच्च मावि नयाँगाउँ, धर्मोदय मावि जावुने, उमामहेश्वरी उच्च मावि सारी, जानकी मावि चितिखोला, सरस्वति उच्च मावि बाङ्गेशाल र जनज्योति मावि लुङ्लाई तीन चरणमा आर्थिक अनुदान दिई प्रयोगशाला स्थापना भएको शिक्षा कार्यालयले जनाएको छ ।

शिक्षण सिकाइमा प्रयोगशाला र पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने भन्दै शिक्षा कार्यालय योजना शाखाका रेशम केसीले विद्यालयमा प्रयोगशाला स्थापना भएपछि शिक्षण सिकाइ प्रभावकारी हुने गरेको बताउनुभयो ।

त्यस्तै अमृतजीवन मावि नारीकोट, सिद्ध मावि जुम्रिकाडाँ, खरा मावि रजवारा, गणेश उच्च मावि तिराम, दाङवाङ मावि दाङवाङ, बालविद्या मावि मरन्ठाना र अमर मावि चुजाँमा शिक्षा कार्यालयले पुस्तकालय स्थापना गरेको छ ।

प्रतिक्रिया