कविता -शीर्षक फूल

सुनिता प्रसाईं काठमाडौ, नेपाल २०७९ पुष १८ गते १:५७ मा प्रकाशित

कहिले काँही फूलहरु किन ढुंगा मन पराउँछन्?
ऊ ,फूल्छ आफ्नै सुवास लिएर,
हुनत ढुंगा पनि आफ्नै अहंकारमा रुमलिएको हुन्छ।

मिर्मिरेमा रातको शित तप्प तप्प अधरमा खस्दा,
झन कति प्रेमील देखिन्छन् फूलहरु।
मौन भएर पनि अहकारी छैनन्,
आफ्नो कर्तव्य र निष्ठामा उनीहरुको बिस्वास हुन्छ।

रंगी बिरंगी फूलहरुको माझमा कहिले काँही आफैलाई हराएको हुन्छु।
जब अन्तर यात्रामा डुबेको हुन्छु,तब होसमा म भित्रको मलाई भेटाउछु।
फूलहरु कोमल हुन्छन्, त्यसैले मलाई फूल नै मन पर्छ।

गमलामा ढकमक्क फूलहरु फूल्दा,
उनीहरुकै समीपमा मुस्कुराउँछु।
शिशिरमा उजाड हुन्छन् फूलहरु,
फेरि बसन्तको पर्खाइमा हुन्छु।

प्रकृतिको प्रकोप सहेर पनि मुस्कुराउन छोड्दैनन् फूलहरु,
टपक्कै कोपिला मै चुडेर लगे पनि,
फूल न हो हांसी हांसी सहिदिन्छन्।
किनकी सहनु त उनीहरुको धर्म हो।

फूललाई चिन्ने मष्तिस्क हुंदा, त्यो फूल कति सुरक्षित छ,
पूजिसके पछि पनि पवित्र स्थान मै बास पाउंछ।

फूलहरु कोमल हुन्छन्,
त्यसैले म सधै फूल नै मनपराउंछु।


सुनिता प्रसाईं
काठमाडौ, नेपाल

प्रतिक्रिया