विराटनगर,७ असोज । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणाका लागि कर्मचारीहरुले दत्तचित्तले कार्य गर्नुपर्ने बताउनु भयो ।
स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७८ः७९ मा सञ्चालित प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
उहाँले जनताको स्वास्थ्यप्रति सरकार संवेदेनशील भएकाले जिल्ला अस्पतालहरु झापाको भद्रपुरमा २०० शैया, पाँचथर र भोजपुरमा ५० शैयाको स्तरान्नति गर्ने निर्णय गरिएको जानकारी दिनु भयो ।
मन्त्री यादवले विराटनगर–१० मा रहेको कोशी कोभिड अस्पताललाई नाम परिवर्तन गरि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रको रुपमा स्थापना गरिएको बताउनु भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र स्वास्थ्यमन्त्रालय सचिव डा अर्जुन भट्टचनले कोभिड खोपले नागरिकहरुमा आत्मविश्वास जगाएको छ भन्दै डेङ्गु नियन्त्रणका लागि पालिकाहरुले खोजि एवं नष्ट गर्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।
निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले कार्यालयहरुले विगत एक वर्षको अवधिमा गरिएको कार्यहरुको सम्वन्धमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने समीक्षा गोष्ठीमा प्रदेशका १४ जिल्ला स्वास्थ्य कार्यालय,आर्युवेद औषाधलय, विभिन्न अस्पताल, शिक्षण अस्पताल, स्वास्थ्य तालीम केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया