मध्यपूर्व तनावबारे गम्भीर छलफल: ट्रम्प र बेलायती प्रधानमन्त्री बीच निरन्तर सम्पर्कको सहमति

इनेप्लिज २०८२ असार ९ गते ०:५३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ बेलायती प्रधानमन्त्री कीर स्टारमरसँग दूरवाणी (टेलिफोन )वार्ता गरेका छन्। सो वार्ता इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछिको केही घण्टामै भएको हो ।

डाउनिङ स्ट्रिटद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुवै नेताले मध्यपूर्वको स्थिति र इरानको आणविक कार्यक्रमले अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने गम्भीर खताबारे चर्चा गरे। अमेरिकी कदमले खतरा कम गर्न प्रयास गरिएको छ भन्ने दुवैको साझा धारणा रह्यो।”

उनीहरूले इरानलाई आणविक हतियार विकास गर्न कहिल्यै अनुमति दिनु नहुने विषयमा पनि जोड दिए। वार्तामा ट्रम्प र स्टारमरले इरानलाई छिटो वार्ताको टेबलमा फर्कनु पर्ने आवश्यकता रहेको बताए । र, दीर्घकालीन समाधान तर्फ ठोस प्रगति आवश्यक रहेको उल्लेख गरे।

दुबै नेताबीच आगामी दिनहरूमा पनि निरन्तर सम्पर्कमा रहने सहमति भएको डाउनिङ स्ट्रिटको वक्तव्यमा उल्लेख गरिएको छ।

दुवै देशको यो कूटनीतिक सम्वादलाई अन्तर्राष्ट्रिय स्तरमा उच्चस्तरीय समन्वयको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया