लन्डन (जीएनएन ) – बेलायतस्थित नेपाली समुदायका अगुवाहरुले महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुख ब्यक्त गरेका छन्।
ब्रिटेनको लिड्स विश्व विद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदी, ओबीइ, ले बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा गहिरो दुख ब्यक्त गरेका छन् ।
‘ बेलायती महारानी एक शालीन व्यक्तित्व थिइन् जसले स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्दथिन्। उनको निधनले बेलायतले मात्र होइन सम्पूर्ण संसारले एक नमूना व्यक्तित्व गुमाएको छ र एउटा युगको अन्त्य भएको छ,’ उनले भने । प्रा सुवेदीले महारानीको जीवन बाट सबै व्यक्तिहरूले सिक्नुपर्ने धेरै पाठ रहेको बताए ।
‘उनको परिवारमा पनि धेरै प्रिय र असजिला सबै घटना घटे तर उनी विचलित भइनन् बरु सबैलाई सकारात्मक ऊर्जा प्रवाह गरिरहिन् । यी सबै उनका विशेषता हुन् ,’ प्रा सुवेदीले भने । बेलायतकी महारानीबाट तीनवटा उच्च्च स्तरका नियुक्ति र राष्ट्रिय सम्मान पाएका सुवेदीले महारानीको निधनले आफुले एउटा ठूलो रिक्तता महसुस गरेको बताए । महारानीको निधन एउटा राष्ट्रिय र अंतर्राष्ट्रिय रूपमै अपूरणीय क्षति हो भन्दै उनले बेलायती राजपरिवार, बेलायती जनता र स्थायित्व, समृद्धि र स्वतन्त्रतामा आस्था भएका सबैमा गहिरो समवेदना ब्यक्त गरे ।
‘एकदमै राष्ट्रवादी व्यक्तित्व’
गएको ४३ वर्ष देखि बेलायतमा बसोबास गर्दै आएका वरिष्ठ चिकित्सक, डा राघव धिताल ओबीइ, ले पनि महारानी एलिजाबेथ द्वितीयको निधनबाट आफु अत्यन्तै दुखी भएको बताए ।
‘स्वर्गीय महारानी देशको लागि सोच्ने, एकदमै राष्ट्रवादी र आफ्नो मुलुक तथा कमनवेल्थलाई कसरी फाइदा हुन्छ भनेर सोच्ने एक गैर राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ डा धितालले भने । ‘त्यस कारणले बेलायतमा राजसंस्था निकै लोकप्रिय भयो र अधिकांश जनताले पनि स्वीकार गरेका छन्,’ उनले भने ।
‘सबै जातजाति र समुदाय मिलेर बसुन् भन्ने महारानीको चाहना भएको र उनलाई धेरैले राष्ट्रिय एकताको संकेतको रुपमा हेर्ने गर्दथे । गोर्खा सैनिकहरुलाई स्वर्गीय महारानी र उहाँका पति स्वर्गीय फिलिपले पनि निकै माया तथा सम्मान गर्नुहुन्थ्यो,’ डा धितालले भने । आफु विद्यार्थी नै रहंदा नेपालमा सन् १९६१ मा उहाँहरु दुबैलाइ पहिलो पटक देखेको उनले स्मरण गरे ।
‘उहाँ युके एकताबद्ध रहीरहोस् भन्ने चाहनु हुन्थ्यो। उहाँबाट सिक्ने कुरा धेरै छन्,’ डा धितालले भने ।
९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बिहीबार निधन भएको थियो।
उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमंत्रीहरु नियुक्त भएका थिए।
आफ्ना पति प्रिन्स फिलिपसंगै महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन् ।
प्रतिक्रिया