मुख्यमन्त्री राई –चार थान अत्याधुनिक एम्वुलेन्स हस्तान्तरण

इनेप्लिज २०७९ साउन १० गते २३:४५ मा प्रकाशित

विराटनगर,१० साउन(रासस):प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकमार राईले अत्याधुनिक स्वास्थ्य सामाग्री यन्त्र जडान भएको चार थान एम्वुलेन्स चार अस्पताललाई आज हस्तान्तरण गर्नु भयो ।

स्वास्थ मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आज आयोजित कार्यक्रममा उक्त एम्वुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले स्वास्थ्य तथा विपद आपतकालिन अवस्थामा नागरिकको उपचारमा सहज पहुँचका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत उक्त ‘ख’ वर्गको एम्वुलेन्स भन्सार छुट सहित प्रति थान रु ५९ लाख ५० हजारमा खरिद गरेको हो ।

सरकारको स्वास्थ्य नीति अनुसार १४ जिल्ला अस्पतालमा १४ थान एम्वुलेन्स र १४ थान शव वाहन उपलव्ध गराउने अनुसार पहिलो चरणमा उक्त एम्वुलेन्स प्रदान गरिएको हो ।

मुख्यमन्त्री राईले उक्त एम्वुलेन्सहरुको चाँवी इनरुवा जिल्ला अस्पताल सुनसरी, उदयपुर जिल्ला अस्पताल उदयपुर, मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लावारी मोरङ र मेची अस्पताल झापाका मेडिकल सुपरिटेण्डेन्टहरु क्रमशः डा देवराज घिमिरे,डा मुकेश झा,डा. रवि साह र डा.टङ्कप्रसाद वराकोटीलाई हस्तान्तरण गर्नु भयो ।

मुख्यमन्त्री राईले सरकारले जनतालाई गुणस्तरीय एवं सर्व सुलभ रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउनु प्रमुख दायित्व अनुसार एम्वुलेन्सको व्यवस्था गरेको बताउनु भयो ।

उहाँले जनतालाई आफ्नो घरठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउन नयाँ स्वास्थ्य केन्द्र स्थापित गर्ने र भएका अस्पतालको स्तरोन्नति गर्न क्रियाशिल रहेको धारणा राख्नु भयो ।

उहाँले अस्पताललाई आवश्यक पर्ने दक्ष जनशक्तिको कमी हुन नदिन करारमा नियुक्ति गर्ने प्रकियाको थालनी गरिएको जानकारी दिदै दुर्गम तथा हिमाली क्षेत्रमा आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष चिकित्कस व्यवस्था गर्ने बताउनु भयो ।

मुख्यमन्त्री राईले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई प्रोत्साहन भत्ता उपलव्ध गराउने बताउँदै गर्भवती र सुत्केरीलाई निशुल्क उपचारका लागि बजेटको व्यवस्था गरिएको जानकारी दिनु भयो ।

उहाँले सरकार जनताको स्वास्थ्य उपचारप्रति चिन्तित रहेकोले स्वास्थ्य मन्त्रालयमा बजेटको कुनै कमि हुन नदिने धारणा राख्नु भयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले वर्तमान सरकार नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन क्रियाशिल रहेको बताउनु भयो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साह, मन्त्रालयका सचिव अनोज भट्टचनले चाँडै दोश्रो चरणमा थप पाँच जिल्ला अस्पताललाई एम्वुलेन्स उपलव्ध गराउने जानकारी दिनु भयो ।

प्रतिक्रिया