आणविक आक्रमणपछि अमेरिकी सुरक्षा चुनौती: आईसीई.द्वारा १३० लुकेका इरानीहरू पक्राउ

इनेप्लिज २०८२ असार १२ गते ०:५६ मा प्रकाशित

अमेरिकामा इरानी ‘स्लीपर सेल’ अर्थात् लुकेका गुप्तचरहरू/आतंकवादीहरूको बढ्दो खतरालाई लिएर संघीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले इरानका आणविक स्थलहरूमा गरेको हवाई हमलापछि आई.सी.ई. (अमेरिकी आप्रावासन तथा भन्सार प्रवर्तन) ले देशभर व्यापक धरपकड गरेको पुष्टि गरेको छ।

पछिल्लो सात दिनमा मात्रै देशभरबाट १३० इरानी नागरिकलाई पक्राउ गरिएको संघीय स्रोतहरूले फक्स न्यूजलाई बताएका छन्। हाल आई.सी.ई. को हिरासतमा ६७० इरानीहरू रहेका छन् र अनुसन्धान जारी रहेकाले थप गिरफ्तारी हुने अपेक्षा गरिएको छ।

यो कडा कारबाही राष्ट्रिय सुरक्षाका लागि बढेको चिन्ताका कारण आएको हो, जसमा इरानी जासुसहरूले हालैका वर्षहरूमा अमेरिकामा प्रवेश गरी सम्भावित आक्रमणको योजना बनाइरहेको वा विदेशी प्रायोजित आतंकवादलाई सहयोग गरिरहेको आशंका गरिएको छ।

ओबामा प्रशासनका पूर्व डी.एच.एस. (गृह सुरक्षा विभाग) सचिव जेह जोनसनले “फक्स एन्ड फ्रेन्ड्स” मा भने, “हेजबुल्लाह, आई.आर.जी.सी. (इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स) सँग सम्बन्ध भएका गैरकानुनी आप्रवासी वा इरानी नागरिकहरूको यस देशमा उपस्थिति, मेरो विचारमा, आन्तरिक कानुन प्रवर्तनको सबैभन्दा ठूलो चिन्ताको विषय हो।”

आई.सी.ई. स्रोतहरूले पुष्टि गरेअनुसार पक्राउ परेका केहीको आपराधिक इतिहास रहेको छ, जसमा लागुऔषध, हतियार र घरेलु हिंसा सम्बन्धी आरोपहरू छन्। कम्तीमा एक जनाले विगत चार वर्षभित्र इरानी सेनामा निशानेबाजको रूपमा काम गरेका थिए।

कूटनीतिक सम्बन्ध सीमित भएका देशहरूमा पनि निर्वासन गर्न दिने हालैको सर्वोच्च अदालतको निर्णयले हिरासतमा रहेका व्यक्तिहरूलाई इरानबाहेक अन्य देशहरूमा पठाउन सकिने सम्भावना बढाएको छ।

ट्रम्पका सीमा प्रमुख टम होम्यानका अनुसार बाइडेन प्रशासन अन्तर्गतको वर्षौको कमजोर सीमा व्यवस्थापनले घुसपैठको लागि बाटो खोलेको छ। “हामीलाई थाहा छैन तिनीहरू को हुन्, कहाँबाट आए, किन यहाँ छन्,” होम्यानले भने। “यो हामीले देखेको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा जोखिम हो।”

प्रतिक्रिया