ट्रम्पको अन्तर्वार्ता लिने प्रख्यात जो रोगनलाई इन्स्टाग्राममा धम्की दिएको आरोपमा ‘लिभर किङ’ टेक्सस अस्टिनमा पक्राउ

इनेप्लिज २०८२ असार १२ गते १:३३ मा प्रकाशित

विवादास्पद शारीरिक सुगठन गुरु ब्रायन “लिभर किङ” जोनसनलाई मंगलबार साँझ टेक्ससको अस्टिनमा पक्राउ गरिएको छ। उनले पोडकास्ट प्रस्तुतकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ मा नोभेम्बर अगाडी अन्तर्वार्ता लिने जो रोगनलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोपमा यो गिरफ्तारी भएको हो।

लाखौं अनुयायीहरूमाझ “लिभर किङ” को नामले चिनिने सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति ब्रायन जोनसनलाई अस्टिनको फोर सिजन नामक अतिथिगृह (होटल)बाट मंगलबार साँझ ६ बजेतिर अस्टिन प्रहरी विभागले नियन्त्रणमा लिएको हो। उनले रोगनलाई झगडाको लागि चुनौती दिँदै एउटा श्रब्यदृश्य (भिडियो)प्रकाशन गरेका थिए।

जोनसनले सोमबार इन्स्टाग्राममा प्रकाशन गरेको श्रब्यदृश्य (भिडियो)मा भनेका थिए, “पुरुषबाट पुरुषमा, म तिमीसँग झगडा गर्दैछु।” कुनै युद्धकला(मार्शल आर्ट) तालिम नभए पनि जोनसनले ब्राजिलियन जिउ-जित्सुमा कालोफित्ताधारी (ब्ल्याक बेल्ट )रहेका रोगनलाई चुनौती दिँदै तिमी लड्ने तयार छौ भने म पनि लड्ने बताएका थिए।

अस्टिन प्रहरीले एक विज्ञप्तिमा भनेको छ, “जासूसहरूले प्रकाशनहरूको समीक्षा गरे र जोनसन अस्टिन यात्रा गरिरहेको बेला पनि धम्कीपूर्ण बयान दिइरहेको पाए। जासूसहरूले रोगनलाई सम्पर्क गरे, जसले जोनसनसँग पहिले कुनै अन्तरक्रिया नभएको र प्रकाशनहरूलाई धम्कीपूर्ण ठानेको बताए। यस जानकारीको आधारमा जासूसहरूले जोनसन विरुद्ध आतंकवादी धम्कीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरे।”

जोनसनको सामाजिक संजाल इन्स्टाग्राम खातामा प्रकाशन गरिएको एउटा श्रब्यदृश्य (भिडियो)मा उनको गिरफ्तारी अघिका क्षणहरू देखिन्छन्। उनी कोठामा यताउता हिँडिरहेका, आफ्नो आसन्न कारागार सजाय र रोगनसँगको झगडाबारे कुरा गरिरहेका देखिन्छन्। एक अधिकारीले उनलाई हातमा हतकडी लगाएर जाँचेको र त्यसपछि प्रहरी गाडीमा राखेको देखिन्छ।

मांसपेशीयुक्त शरीर र विवादास्पद काँचो मासुको आहारका लागि प्रख्यात जोनसनलाई आतंकवादी धम्की दिएको आरोपमा वर्ग ख हल्का अपराध अन्तर्गत मुद्दा चलाइएको छ। अनुसन्धान जारी रहेकाले उनी ट्राभिस काउन्टी कारागारमै छन्। अस्टिन प्रहरी विभागले यो सक्रिय अनुसन्धान रहेको भन्दै थप विवरण दिन अस्वीकार गरेको छ।

प्रतिक्रिया