मोरङमा एकीकृत सुरक्षा योजना

इनेप्लिज २०७९ वैशाख २७ गते २२:४६ मा प्रकाशित

विराटनगर, २७ वैशाख।यही वैशाख ३०गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ।

यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागु रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो।उहाँले निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएको जानकारी दिनुभयो।

निर्वाचनलाई सुरक्षित,भयरहित एवं मर्यादित बनाउन लागु भएको एकीकृत सरक्षा योजना अनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद,सशस्त्र र अनुसन्धान तथा कर्मचारीहरु गरी १३ हजार ६७ जना जनशक्त्ति परिचालन भएको जिल्ला प्रशासन कार्याल्य मोरङले जनाएको छ।

जसमा नेपाल पहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन्।निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ।

जिल्लामा ३०० मतदान स्थलको ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजना अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाईमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो।

नाका बन्द

यसैगरी,सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालय मोरङले आज राति १२ बजे देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ।

यही वैशाख ३० गते सम्पत्र हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ,निस्पक्ष र भयरहित वतावरणमा सम्पत्र गर्न मोरङ जिल्लासँग सीमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एक सूचना मार्फत जानकारी दिनुभएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शबबाहन,दमकल बैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलिय पदार्थ बोकेको गाडी आवतजावन गर्न नकामा दिएपनि ३० गते नाकाबाट एम्बुलेन्स र दमक बाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको जानकारी दिनुभयो।

मदिरा निषेध

यसैगरी,सोही सन्दर्भमा जिल्लामा मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गएिको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा(व्यवस्थापन) निर्देशिका,२०७८ को दफाछ ६(थ),गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो।

आज राति १२ बजे देखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङ जिल्ला भरि मादक पदार्थको ओसारप्रसार,बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लेखित क्रियाकलाप नगरी, गराई सहयोग गर्न हुन सबैलाई अनुरोध गरेको छ।

यो आदेश बर्खिलाप भए गरेको पाइएमा कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी दाहालले सूचना मार्फत जानकारी दिनुभएको छ।

मोरङका १७ वटै स्थानीय तहहरुमा विभित्र पदमा कुल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन्।जसमा पालिका प्रमुखमा ७४,उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०,उपाध्यक्षमा ४८,वडाध्यक्षमा ९६२,सदस्यमा एक हजार ६४०,महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मोरङमा कुल दर्ता राजनीतिक दलहरुको सङ्ख्या ३९ छन् ।तर,उम्मेदवारी फिर्ता लगायतका कारणले हाल निर्वाचनमा २२ वटा दलहरु सहभागी छन।मोरङमा कुल मतदाताहरुको सङ्ख्या सात लाख १५ हजार २२३ रहेको बताइएको छ।

प्रतिक्रिया