के लेखौं,अनि कहाँबाट शुरु गरौं? किनकि लेख्ने कुरा धेरै छन्।अझ त्यस कहानी भित्रका अनुभुतीहरु सबै व्यक्त गर्ने हो भने त एउटा महाकाव्य नै तयार बन्छ होला ! तैपनि केही भोगाइहरु लेख्दै छु, जुन कसैले पनि भोग्न नपरोस् !
कोरोनाको खोप आएसँगै धेरैमा उमङ्ग आयो।यदाकदा खोप लगाएपछिका नराम्रा असर पनि टिकटक,फेसबुक जस्ता सामाजिक संजालमा नआएका होइनन्। तर यस्ता नकारात्मक प्रभावलाई बाहिर ल्याउनेले सोसल मिडियामा कमेन्ट मार्फत गाली पनि पाए।मलाई भने यी नकारात्मक प्रभाव साँच्चिकै हो जस्तो लाग्थ्यो र खोप लगाउनेको भिडमा लाइन लागेर कहिल्यै पनि बसि।
बिस्तारै नेपाल सरकारले पनि कोरोनाको खोपलाई अनिवार्य बनायो।अझ भनौं “खोप नलगाउनेले सार्वजनिक सेवा नपाउने” भनेर बाध्यात्मक परिस्थिति बनाइयो ।यसै पनि अरु घोडा चड्दा हामीलाई धुरी चड्नुपर्ने स्वभाव छँदैछ।हतारमा आएको खोपले कति राम्रो अथवा नराम्रो गर्छ भन्ने कुरा त अझै समयले नै बताउने नै छ।
त्यस्तैमा बच्चाको लागि भनेर फाइजर खोप पनि ल्याइयो।हाम्रो छोराले पनि वि.सं. २०७८ को मंसिर ६ गते सिभिल हस्पिटलमा पहिलो मात्रा खोप लगायो।मेरो अनुभवमा पहिलो मात्रा खोप लगाएको दुई तीन दिन देखि उसलाई खानामा रुचि कम हुन थाल्यो।तर पनि स्कुल जाने तथा आफ्नो दैनिक क्रियाकलाप नियमित गरेकोले कुनै चिन्ताको विषय भएन।
त्यसपछि पुषको १ गते दोस्रो मात्रा खोप दिइयो।खोप लगाएको भोलिपल्ट ऊ स्कुल गयो।तर पर्सिपल्ट हल्का ज्वरो आयो र टाउको पनि दुख्यो।टाउको दुखेको भोलिपल्ट उस्लाई हस्पिटल लगियो।त्यहाँ डाक्टर साबले “खोपको असर हो आफैं ठिक हुन्छ ” भन्नू भयो।यो पटक उसको टाउको दुखाइ र ज्वरो एक/दुई दिनको लागि मात्रै रह्यो।तर उसलाई उठ्नै नसक्ने गरी कमजोरी महशुस भयो।अनि फेरि बि एण्ड बि हस्पिटलमा एकजना फिजिसियन डाक्टरकोमा लगियो। त्यहाँ उहाँले “यो भ्याक्सिनको असर हुन सक्छ र यो मेरो डिपार्टमेन्ट होइन ” भनेर बाँसबारी न्युरो हस्पिटलका एकजना डाक्टरको जान सुझाव दिनुभयो।अनि भोलिपल्ट न्युरो हस्पिटल लगियो।त्यहाँ पनि डाक्टर साबले ” यो भ्याक्सिनको असर हो,बिस्तारै आफैं ठिक हुन्छ ” भनेर खाना रुच्ने ओैषधी दिएर पठाइदिनु भयो। यो पटक ऊ सत्र दिन सुत्यो।खोपको असर हो,सन्चो भैहाल्छ भनेर हामी पनि ढुक्क थियौं।त्यसपछि हप्ता दशदिन जति स्कुल गयो र अनि लगत्तै फेरि कोरोनाको अर्को लहरले गर्दा शैक्षिक संस्था बन्द भएर घरमै अनलाइन कक्षा शुरु भयो। सबै नर्मल नै चले पनि उसले खानामा रुचि चाहिँ पटक्कै गरेन।
क्रमश……
-दुर्गा लोहनी
प्रतिक्रिया