रुपान्तरण : दृष्टिकोणमा अग्रगमन 

इनेप्लिज २०८२ वैशाख २९ गते १०:११ मा प्रकाशित

अहिल्या र गौतम ऋषिको जोडी एकअर्कामा समर्पित भनेर (तिनै लोकमा) चिनाइएको कथा हो । यो कथामा अहिल्याको सदगुणसहितको सुन्दरता, नित्य सुर्य दर्शन भन्दा पहिले नै पति गौतमको दर्शन गर्थिन । त्यसैले होला अहिल्याको रुप लक्षणसहितको पतिभक्ति, परिवारप्रतिको स्नेहको कर्तव्य अहिले पनि सुनाउँने गरिन्छ।

यो कथाका अनुछ तिनै लोकका देव,दानव र मनुष्य अहिल्याको रूप देखेर लठ हुन्थे । देवताका राजा इन्द्र अहिल्याको रूपमा मोहित भएर निकै दिनदेखि एकान्तवासमा बसेका थिए । इन्द्रको एकान्तबासले देवताहरू चिन्तित थिए ।लगातार एकान्तमा बसेको देखेर एकदिन चन्द्रदेव इन्द्रको नजिक गए र एकान्त बस्नाको कारण सोधे,

चन्द्रदेवले इन्द्रको मनको भाव बुझे झै गरेर इन्द्रले अहिल्याको रूपको बयान गर्दै उनको यौवन देखेर आफुलाई छट्पटी भएको कुरा बताए । इन्द्रले चन्द्रदेवसगँ सहयोगको अपेक्षा पनि गरे । चन्द्रदेवले गौतम र अहिल्याविचको प्रगाढ प्रेम बुझेको कारण अहिल्यालाई प्राप्त गर्ने विषय असम्भव भएको विचार राखे ।

इन्द्रले आक्रोशित हुँदै भने,

” चन्द्रदेव, म अहिल्याको रूप र यौवनबाट अब टाढा हुन सक्दिन् । एक पलका लागि भए पनि मैले अहिल्यालाई प्राप्त गर्नै पर्छ ।त्यसैले त्यसको ब्यवस्थापन गर । “

चन्द्रदेवलाई देवलोकको राजा इन्द्रको आदेशको पालना त गर्नै पर्थ्यो । यस्तो असम्भव कुरा कसरी गर्ने ? चन्द्रदेवले इन्द्रदेवलाई सोधे, ” देव, एक पटक मर्त्यलोक गएर अहिल्यालाई आफ्नो मनको कुरा भन्नुस्। तपाई लाई देखेर उनले मञ्जुर गर्न पनि सक्छिन् । “


चन्द्रदेवको कुरा इन्द्रले इन्कार गर्दै भने,

” चन्द्रदेव,तिमीले अहिल्यालाई चिन्दैनौ ! उनी पतिव्रता स्त्री हुन्,पतिव्रता स्त्रीले यौवनको आवश्यकता बुझ्दैनन् । यस्तो महिला पतिको प्रेम र स्पर्शमा नै सन्तुष्ट हुने गर्छन् । त्यसैले म तिमीलाई उनको त्यो पतिभक्तीलाई भङ्ग गराउन अनुरोध र आदेश दुबै गराउँदै छु।उनको रुप र यौवनको तरङ्गमा उनी होइन म डुब्न आतुर छु। यो काम तिमीले शिग्र नै गर्नु पर्नेछ ।” इन्द्रको आदेश पालना गर्न बाध्य भएका चन्द्रदेवले भने,

” म हजुरको आदेशक‍ो पालना गर्न तयार भएँ ।तर कसरी गर्ने ? मलाई उपाय बताइ दिनुस् प्रभु ! “

इन्द्रले चन्द्रदेवलाई गोप्यरूपमा उपाय बताए र यथाशीघ्र त्यो उपायको पालना गर्न भने,

इन्द्रको मनोकामना पूरा गर्न खटिएका चन्द्रदेव रातको मध्यान्हतिर यात्रामा निस्किए । पृथ्वीलोको मध्यरातभन्दा अघिको समय चन्द्रदेवको प्रकाश ठप्प भएको कारण अन्धकार भयो ।

चन्द्रमाको प्रकाश ठप्प भएको कारण अहिल्या र गौतम निन्द्राबाट ब्युँझिए ।सुर्योदयको समय हुन लागेको जस्तो लागेर ऋषि गौतमले अहिल्यालाई भने, “प्रिया ! आ चाडो उज्यालो हुन लागेको जस्तो लाग्यो । “

अहिल्याले सहमति जनाउदै गंगामा स्नान गर्ने घडा र पुजाको सामग्री ल्याएर ऋषि गौतमको हातमा राखिदिइन । ऋषि गौतम गंगा स्नानका लागि निस्किएको मौका छोपी चन्द्रदेवको सहाराले इन्द्र,गौतम ऋषिको आश्रममा पुगे । इन्द्रले खोपीबाट अहिल्याको अवस्थाको अवलोकन गरे ।अहिल्या आफ्नो नित्य कार्य सकेर श्रृङ्गारतिर लागिन्। अहिल्याको श्रृङ्गारमा जगत चम्काउने प्रकाश थियो । विना श्रृङ्गार नै सुन्दर अहिल्यालाई देखेर हतारिदै इन्द्रले आफ्नो रूप बदले र गौतम ऋषिको रूप धारण गरेर कुटी भित्र छिरे ।

इश्वरभक्तिमा लिन गौतमको दैनिकी गंगाको स्नान र सुर्य दर्शन गरेर मात्रै फर्कने थियो । चाडै फर्केको देखेर अहिल्या छक्क पर्दै आफ्नै सुरमा सोधिन् ,


” पतिदेव, आज किन यति चाडै आउनु भयो ? सुर्यदेवको दर्शन विना कुटी आउनु भएको हो र ? “

छल गरेर भित्र छिरेका इन्द्रले गौतम ऋषि बनेर अहिल्यासगँ यौनतृप्तिको अभिलाषा व्यक्त गरे । कहिल्यै यौनमा आशक्त नहुने पति आज यौन तृप्तिका लागि गंगाको स्नान र सुर्य दर्शन गर्नै छोडेर आएको देखेर आश्चर्य हुँदै भनिन,

” तपाईले ज्ञान र ध्यानको माध्यमले आफ्ना सबै इन्द्रियहरूलाई आफ्नो बसमा परिसक्नु भएको थियो । आज किन यस्तो भन्दै हुनुहुन्छ ? मलाई विश्वास लागेन ।”


अहिल्याको कुरा सुनेर इन्द्रले गौतमको भाव झल्काउदै भने,

” म आज विचलित भएँ,तिम्रो सुन्दरता र यौवनले मलाई इश्वरभक्ति पनि विर्सायो । त्यसैले म तिमीसँग प्यास मेटाउन आतुर भएर फर्कें। मेरो प्यास भेटाइदेउ प्रिया ! मेरो प्यास मेटिए पश्चात् म पुन : सुर्यदेवको पुजामा जान्छु ।”
भन्दै अहिल्यासगँ काम वासनामा डुब्न खोजे ।

चन्द्रदेवको अनुपस्थितले मध्यरातमा ब्युझिएका ऋषि गंगा किनारमा पुग्दा चन्द्रदेव इन्द्रले गरेको पश्चातापमा जल्दै पुनः आफ्नो यात्रामा फर्किसकेका थिए । केही समय अलप भएका चन्द्रदेवलाई देखेर ऋषि आश्चर्यमा परे ।चन्द्रदेवलाई पुनः देखेर ऋषि छक्क पर्दै सुर्योदय हुन समय लाग्ने ठहर गर्दै आश्रम फर्कने निर्णय गरे र फर्किए । आश्रम फर्केका ऋषिले आफ्नी पत्नी अहिल्या परपुरूषको काम वासनामा मस्त देखे।गौतम ऋषिको आगमनले अहिल्यामा अन्योलमा परिन् । मध्य रातमा पति नै दुईवटा भएको देखेर अन्योल र दोधारमा परिन् । आफ्नो पति कुन चाहिँ हो छुट्याउनै गाह्रो पर्यो । अहिल्या आतिँदै उठिन र ढोकाको छेउमा उभिएका ऋषि गौतमको छेउमा पुगिन र भनिन्,

” तपाईं यहाँ ? त्यसो भए यो को हो ? ” ऋषिले क्रोधित हुँदै छलितिर हेरे र भने, ” तँ को होस ? ” तेरो वास्तविक रूपमा आइज ! नत्र म श्रापले भस्म बनाउछु । “

ऋषिको आक्रोशले आतिएका इन्द्रले आफ्नो भेष बदले । बदलिएर आएको इन्द्रको रूप देखेर आक्रोशित ऋषिले इन्द्रतिर हेर्दै भने,

“मेरो नजरबाट दुर हो !”

ऋषिको आगमन र क्रोधबाट आतंकित इन्द्र श्रापको डरले तुरून्तै अन्तर ध्यान भए ( भागे) ।

पत्नी पर पुरूषसगँको सहवासमा लठ्ठीएको देखेर विचलित भएका ऋषिले अहिल्यालाई भयभित गराउदै हेर, आफ्नो पतिले गरेको व्यवहारका कारण आतिएकी अहिल्याले पतिसगँ माफी माग्दै छेउमा गइन र भनिन्,

” पतिदेव! मेरो दोष छैन, यस्तो मध्यरातमा अरु आउला भनेर म कसरी सोचौं ? म त तपाईं नै फर्कनु भयो भन्ने भ्रममा परें । म निर्दोष छु । मलाई माफ गरिदिनुस भन्दै पतिको चरणको स्पर्श गर्न थालिन् ।”

क्रोधले चुर भएका ऋषि गौतमले आफ्नु कमन्डलुको पानीले पर्सदै अहिल्यालाई भने, ” तँ अपवित्र छस् । तेरो मन अपवित्र छ । तँ मेरो पत्नी बन्न लायक छैनस् । तँलाई माफी हैन श्रापले पथर बनाइ दिन्छु ।”

भन्दै श्राप दिए । मिनेट भरमा अहिल्या पथरमा परिणत भइन् ।

वैदिक सव्यताभित्रको समस्या नै महिलाको यौनिकतामा पुरुषले आँखा लगाउने, अपराध नहुँदा पनि दोषी महिलामा थोपरिने,महिलाको यौनिकताको अधीन पुरुषमा निहित हुनै पर्ने,महिलाको इच्छाविरुद्ध भएका अपराधक‍ो सिकार पनि महिला नै हुनु पर्ने जस्ता पितृसत्तात्मक संस्कारहरु यस्ता कथाहरु मार्फत समाजलाई सिन्चित गरिएको छ।

महिलाले यौनिक चाहाना नराख्दा पनि महिलाले यौनिक सम्बन्ध राख्न पर्ने बाध्यता महिलाले व्यहोर्नुपर्ने,पुरुषले यौन सम्बन्धपछि उत्पन्न हुने परिणामको दोष बोक्न नपर्ने कारण (जैविक कारणको छुटले ) पिडकलाई अझै यातना व्यहोर्नुपर्ने बाध्यता सृजना गराइएको देखाइएको छ । गौतम र अहिल्या विचको प्रेमको बाधक शक्ति र श्रोतले सम्पन्न देवताका राजा इन्द्र, ज्ञानको साधनामा डुबिरहने, भिक्षा मागेर जिविका चलाउनेको पत्नी अहिल्याको रूपमा मोहित भएर छदम भेषमा यौन शोषण गर्ने इन्द्रलाई ठुलो बनाउने समाजका हामीहरु कस्तो दृष्टिकोण राख्ने मानिस हौ ? आफैंलाई प्रश्न गरौं ।

किन अहिल्या नाम गरेकी स्त्रीले सजाय पाउने अवस्था बन्यो ?हाम्रो समाजको विकासको जग कसरी बनेको छ ? किन पुरुषको स्त्रीप्रति हेर्ने दृष्टिकोणमा खोट छ? के आधुनिक समाजको सुचना,प्रविधि र सुविधाको उपयोगको पनि महिला मार्फत नै प्रयोग गरिँदै हो त ?

सुचना र प्रविधिको विकासले समयलाई बदल्यो,समाजको विकाससँग आवश्यकताहरु पनि बदलिए। समाजको विकाससँग हिंसाको रूप फेरियो सार फेरिएको छैन। पितृसत्ताका रुप फेरिएपछि महिला माथि हुने र गरिने हिंसाका रुपहरु फेरिएका छन् । हामीले बनाएको संविधानको प्रस्तावनाको समानताको सत्य अझै आफ्नो सन्तानको नागरिकतामा आमाले सनाखत गर्न पाएकी छैनन् । छोरीहरुले पैत्रिक सम्पत्तिमा हक पाउन सम्बन्धबाट लखेटिनु परेको छ। बनेको कानुन किताबमा मात्रै सिमित गर्ने कर्मचारीतन्त्रको दरिद्र मानसिकताले महिलाको पक्षमा बनेका कानुन कार्यनयन भएका छैनन् ।संविधान र कानुन बलियो बनाएर पनि महिला हिंसामा परेको परैछन्। न्याय माग्न गएका सयौं ठाउँमै महिला माथि दुर्ववहार गरिएका सयौं उदाहरण र हजारौं घटना छन् । समाजको रुपान्तरणका लागि दृष्टिकोणमा अग्रगमन र व्यवहारमा सरलता चाहिन्छ । अहिलेको सरकारसँग महिलाप्रति हेर्ने दृष्टिकोणमै भेद छ।राज्यको भेदपुर्ण व्यवहार र दृष्टिकोणले सहभागीतामा मात्रै होइन, महिलाको सक्रियता र कार्यक्षमतामा नै प्रश्नचिह्न लाग्छ,लागिरहेको पनि छ।

सीता ओझा

प्रतिक्रिया