मुख्यमन्त्री राई–सिरुवा पर्व शुभकामना

इनेप्लिज २०७९ वैशाख २ गते ३:०९ मा प्रकाशित

 

विराटनगर,२ वैशाख।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख,शान्ति,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गर्नु भएको छ।

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद अवसरमा देश,विदेशमा बस्नुहुने दाजुभाइ,दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति,सुस्वास्थ्य,दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ।

सन्देशमा उहाँले नेपाल सदियौंदेखि बहुजातीय,बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्नु भयो।

मुख्यमन्त्री राईले यो विविधता नेपाल र नेपालीको पहिचान,गहना र सम्पत्तिसमेत बनिसकेको छ त्यसैले सबै भाषा,धर्म,संस्कृति,चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो भन्नु भएको छ।

उहाँले हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित सिरुवा पर्वका अवसरमा हार्दिक शुभकामना गर्नु भएको छ।

 

प्रतिक्रिया