विराटनगर,१५चैत।मोरङ व्यापार सङ्घले नेपाल विद्युत प्राधिकरणले सुनसरी– मोरङ औद्योगिक क्षेत्रमा विद्युत कटौतीका कारण उत्पादनमा ६० प्रतिशत कमी आएको आरोप लगाएको छ।
मोरङ व्यापार सङ्घ,उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत संकटका ’सम्वन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा व्यापार सङ्घका अध्यक्ष नविन रिजालले प्राधिकारणले भारतबाट रु ३८ मा प्रति युनिट विद्युत खरीद गर्नु अवस्था आएकोले औद्योगिक क्षेत्रमा गएको चैत ८ गतेदेखि दैनिक रुपमा वेलुकीको समयमा १२ देखि १८ घण्टा विद्युत कटौती गरेकोले उत्पदनमा कमीका साथै उद्योग बन्द गरी मजदुरलाई रोजगारी विहीन बनाउनु पर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नु भयो।
अध्यक्ष रिजालले उद्योग बन्दबाट सरकारले प्राप्त गर्ने राजश्वमा समेत ह्रास आउनुका साथै बैंक तथा वित्तिय संस्थालाई व्याज तथा साँवा वुझाउन नसक्ने बताउनु भयो।औद्योगिक करिडोरमा दैनिक २०० मेघावाट विद्युत आवश्यक रहेको छ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले वेलुकीको समयमा दैनिक छ घण्टा विद्युत कटौतीमा प्राधिकरणलाई सहयोग गर्ने बताउँदै मुलुकको अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा विद्युतको सुचारु व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो। उद्योग सगठनका पूर्व अध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलङ्का र बङ्गलादेश निर्यातमा विद्युत कटातीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाउनु भयो।
परिसङ्घका अध्यक्ष भीम घिमिरेले मुलुकको समस्याग्रस्त अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा हुने विद्युत कटौती अविलम्व हटाउन आग्रह गर्नु भयो।सोही अवसरमा व्यापार सङ्घका अध्यक्ष रिजाल विद्युत सम्वन्धी समस्या समाधान नभएमा सम्पूर्ण उद्योग बन्द गरी सरकारलाई चाँवी वुझाउने जानकारी समेत दिनु भयो।
उहाँले विराटनगरको सीमावर्ती भारतीय बजार बथनामा क्षतिग्रस्त मीरगंज पुल आगामी १५ दिनमा सञ्चालनबाट यस क्षेत्रका उद्योगहरुले आयात गर्ने औद्योगिक कच्चा पदार्थको ढुवानी भाडामा वचत हुने जानकारी दिनु भयो।
प्रतिक्रिया