विराटनगर,१० चैत।प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँच र औषधि सेवाबाट क्षयरोग रोग निको हुने बताउनु भएको छ।
विश्व क्षयरोग निवारण दिवसको उपलक्ष्यमा स्वास्थ्य मन्त्रलय, विराटनगर महानगरपालिका,स्वास्थ्य निर्देशनालय,नेपाल क्षयरोग निवारण संस्थाद्वारा आज यहाँ संयुक्त रुपमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो।उहाँले आगामी निर्वाचनमा घरदैलो कार्यक्रममा क्षयरोग,हात्ती पाईले रोग,आमा सुरक्षा र विभिन्न खोपका सम्वन्धमा स्पष्ट रुपमा स्वास्थ्य सुरक्षाका विषयमा जनतालाई जानकारी गराउन आग्रह गर्नु भयो।
सो अवसरमा मन्त्रालयका सचिव अनोज भट्टचन,स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानवहादुर वस्नेत,क्षयरोग चिकित्सक डा नारायण कुमार,क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष शिवनारायण प्रधान,क्षयरोग निको भएका विरामी युवराज भट्टराईले तीन महिनासम्म लगातार खोकी र ज्वरो निको नभएमा स्वास्थ्य जाँच गरी निशुल्क औषधि सेवन गरेमा क्षयरोग निको हुने जानकारी दिनु भयो।यसअघि देवकोटा चोकस्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रममा पछि बुधहाट चोकमा कोण सभामा परिणत भएको थियो।
प्रभातफेरीमा स्वास्थ्यमन्त्री यादव,सचिव भट्टचन,लगायत मन्त्रालय, स्वास्थ्य निर्देशनालयका,प्रयोगशाला,महानगरपालिकाका कर्मचारी,विभिन्न स्वास्थ्य शिक्षा अध्यापन गराउने कलेज,विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।आजै दिवसको उपलक्ष्यमा क्षयरोगीका विरामीहरुलाई फलफुल वितरण र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ५५९ जना क्षयरोगका विरामी पत्ता लागेको छ भने ७० प्रतिशत विरामी पत्ता लगाउन नसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले वताउनु भयो।
प्रदेशको झापामा ९९२,मोरङमा ९६८ र सुनसरीमा ८८९ क्षयरोगका विरामी देखिएको छ भने तेह्रथुम जिल्लामा सवैभन्दा कम २१ जना विरामी फेला परेको छ ।विराटनगर महानगरपालिकामा ३०० जना क्षयरोगी रहेका छन्।
प्रतिक्रिया