विराटनगर,९ चैत।नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलहरु वीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनु भयो।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व,लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पार्नु भयो।
पूर्व उपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान क्षतविप्त र नागरिकलाई पाएको राजनीतिक उपलव्धी खोसिनवाट जोगाउन सफल भएको धारणा राख्नु भयो।
उहाँले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसदको निर्वाचनसम्म जानु पर्नेमा जोड दिदै देशको आवश्यकता नै अहिले गठबन्धन निर्वाचन रहेको छ भन्नु भयो।
नेका पूर्व उपसभापति गच्छदारले गठबन्धनको कारण नेपाली कांग्रेसको नेतृत्वमा बर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दावी गर्नु भयो।
उहाँले नेकां र कम्यूनिष्ट वीच विचार र सिद्धान्त बेग्लाबेग्लै भएपनि राजनीतिक उपलव्ध प्राप्त गर्नका लागि विभिन्न कालखण्डमा एकसाथ आन्दोलन अगाडि वढेको धारणा राख्नु भयो।
नेता गच्छदारले राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य पूर्तिका लागि वर्तमानमा गठबन्धन आवश्यक रहेको धारणा राख्नु भयो।
नेता गच्छदार सुनसरीको गढी गाउँपालिकाका नव निर्मित अस्पतालको उद्घाटनका लागि आउनु भएको हो।
प्रतिक्रिया