प्रमुख संरक्षक घलेको आह्वानमा १०औं महाधिवेशन शुरु

इनेप्लिज २०७८ चैत ८ गते १०:५६ मा प्रकाशित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । संघका प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको दशौं महाधिवेशन काठमाडौंको होटल याक एण्ड यतिमा शुरु भएको हो ।

महाधिवेशनको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका हुन् । उद्घाटनपछि मन्त्री शर्माले विदेशमा बस्ने नेपालीहरु जन्मभूमिका लागि गम्भीर हुनपर्ने बताए । उनले गैर आवासीय नेपालीबाट नेपालले ठूलो आसा गरेको त्यसै अनुसार सरकारले पनि नीतिहरुमा परिवर्तन गर्दै गएको बताए ।

‘विश्वका विभिन्न मुलुकमा गएर विभिन्न पेशा, व्यवसाय गरेका नेपालीलाई संविधानमा भोटिङ राइट बाहेक सबै अधिकार संविधानले दिएको छ’, उनले भने, ‘लगानीका लागि कानुन अप्ठेरो बनायौं । अहिले सच्चाउने प्रक्रियामा छौं । विदेशमा सिकेको सिप र कमाएको ऊर्जा नेपालको समृृद्धिको लागि लगानी गर्नुपर्छ ।’ त्यसका लागि सरकार तयार रहेको प्रतिबद्धता जनाए ।

मन्त्री शर्माले विकास, शिक्षा, स्वास्थ्य, जलविद्युत, सडक, यातायात, पर्यटनलगायतका क्षेत्रमा काम गर्न नसकेको बताए । पर्याप्त सम्भावना हुँदाहुँदै पनि निर्यात बढाउमा लाग्न नसकेको बताए । ‘आयात घटाउनमा हामी लाग्नुपर्छ । पेट्रोल, डिजेलको भाउ बढ्दा, डलर बढ्दा ठूलो प्रभाव पारेको छ’ मन्त्री शर्माले भने ।
उनले विदेशमा बस्ने नेपालीलाई नेपालमै नआई डलर खाता खोल्न र निकाल्न सक्नेगरी व्यवस्था गरिएको बताए । उनले अब आत्मनिर्भर हुनसक्ने क्षेत्रको पहिचान गरेर उत्पादनमा जोड दिनुपर्ने बताए ।

दशौं महाधिवेशनमा स्वागत गर्दै प्रमुख संरक्षक घलेले एनआरएनभित्र भूकम्प गएको बताए । संस्थामा गएको भूकम्पबाट धेरै कुरा सिक्ने मौका भएको बताए ।
‘यो विषम परिस्थिति हो । कोभिडको अप्ठेरो परिस्थितिमा पनि हामी यहाँ छौं । भूकम्प जाँदा नेपालमा उत्रिएका थियौं । त्यसैगरी यो संस्थामा भूकम्प गएको छ’ घलेले भने, ‘एक आपसमा विश्वासको वातावरण बनाएर अगाडि बढौं ।’

यो विवादमा पार्टरनसिप धेरै महत्वपूर्ण भएको बताए । एनसीसीको आत्मविश्वास, नेटवर्क अझै महत्वपूृर्ण भएको उनले बताए । ‘विदेशमा आर्जेको उर्जा, क्षमता, व्यापार, व्यहारिक विषयलाई नेपालमा सिकाउन सकिन्छ भन्ने हो । जसरी नेपालमा भूकम्पबाट सिक्यौं पुननिर्माण सिक्यौं । त्यसैगरी संस्था पुर्ननिर्माणमा छौं’ उनले भने । प्रत्येक दिन फरक छ, भोलि के हुन्छ कसैलाई थाहा नभएको र राम्रोका लागि कामना गर्नुपर्ने बताए । ‘सबै एकजुट भएर अगाडि बढौं’ उनले भने ।
त्यसैगरी, कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले राष्ट्रिय समन्वय परिषद्लगायतलाई धन्यवाद दिए ।

‘हामी विशेष मोडमा छौं । समयमा नेतृत्वले सही काम गरेको भए हामी यहाँ हुने थिएनौं’ उनले भने, ‘ढिलै, कठिन भए पनि महाधिवेशनको शुरुवात भएको छ ।’

उपाध्यक्ष लामाले संस्थालाई विधि र विधानबाट अगाडि बढाउन लागेको बताउँदै प्रमुख संरक्षकलाई जिम्मेवारी दिएर अगाडि बढेको स्पष्ट पारे । ‘हामी संरक्षकलाई जिम्मेवारी दिएर आएको हो । संस्था फुट्ने होइन, जुटेर अघि बढ्नेछ ।’

प्रतिक्रिया