” मेरा हजुरबुबा”

कमला प्रसाईं २०७८ चैत १ गते २:५० मा प्रकाशित

आजभोलि हजुरबुबा निक्कै
सम्झनामा आउन थाल्नु भएको छ,
छड्के ढाकाटोपी र
दौरासुरुवालमा सजिएका
हजुरबुबाले
शनिश्चरे बजारको अर्जुनधारामा
मलाई आशीर्वाद दिएको
भर्खरजस्तो लाग्छ !
दशैंमा टीका लगाएर
मेरो शिरमा जमरा राख्दै
आशीर्वाद दिएका भर्खरजस्तो लाग्छ !
भुटेको मकै आफ्नै दाँतले चपाउन पाउँदा
निक्कै खुशी हुने
चौरानब्बे टेकेका मेरा हजुरबुबा
साथमा बसेर
कुराउनी र सेलरोटी खाएको याद आउँछ
अचेल म निक्कै
हजुरबुबालाई सम्झन थालेकी छु,
मैले जानेदेखि
हजुरबुबासँग
प्यारो देश थियो
देशभित्र आस्था अनि उमंगहरू फूलेका थिए
हजुरबुबाको मनभित्र देश थियो
देशभित्र माया र विश्वास झुलेका थिए ।
मेरा हजुरबुबाका तागत थिए
एक ठेकी मही र एक हर्पे घ्यू
गाईमा पालिएका थिए
भगवानका भाकलहरू
मैले मेरा हजुरबुबाभित्र
राष्ट्रचिन्तनका सागरहरू देखेकी थिएँ,
र त अहिले पनि सम्झने गर्दछु
हजुरबुबा हुनुको अर्थ
देशको गौरव हुनु हो ,
हजुरबुबा हुनुको अर्थ
देवीदेवताको आशीर्वाद हुनु हो,
प्रत्येक चाडपर्वहरूमा
मेरा हजुरबुबा सम्झना बनेर आउँदा
आशीर्वाद पनि प्राप्त भएझैँ लाग्छ
तर
आज हजुरबुबा
हामीबाट धेरै टाढा जानुभएको छ,
फेरि पनि खै !
किन किन !
म मेरै हजुरबुबाको खोजीमा
हिँडिरहेछु,
हजुरबुबाले टेक्ने लट्ठीको खोजीमा हिँडिरहेछु,
किनकि,
हजुरबुबा हुनुको अर्थ मेरो देश हुनु हो,
हजुरबुबा हुनुको अर्थ
मेरो देशको सभ्यता हुनु हो।।।

जय पशुपतिनाथ लेखिका- कमला प्रसाईं हाल-अमेरिका (हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया पाउँ है)

प्रतिक्रिया