नेपाल–भारतका अधिकारीको सीमा समन्वय बैठक सम्पन्न, सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिने

इनेप्लिज २०७१ माघ १० गते १५:१९ मा प्रकाशित

30_06_2012-30SDR-9दार्चुला, १० माघ । नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा समन्वय बैठक आज दार्चुलाको तपोवनमा सम्पन्न भएको छ ।

बैठकमा नेपालसित सीमा जोडिएको कालापानी र पञ्चेश्वरसम्म सुरक्षामा कडाइ हुने भारतीय पक्षले जनाएको छ ।

त्यसैगरी जिल्ला सदरमुकाम खलङ्गामा मोटरेबल तथा लाली र धौलाकोटमा झोलुङ्गे पुल भारत सरकारले बनाउने सहमतिअनुसार उक्त प्रक्रिया अघि बढाउन भारतीय अधिकारीहरुसँग आग्रह गरेको प्रमुख जिल्ला अधिकारी प्रेमसिह कुँवरले बताउनुभयो ।

बैठकमा यही २६ जनवरीमा हुने गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा आउने भएपछि सीमामा सुरक्षा कडाइ गरिने जनाएको छ ।

नेपाल सरकारले उकु गाविसको जोलजीवीमा निर्माण गर्न लागेको झोलुङ्गे पुलको निर्माण कार्य भारतीय पक्षबाट ठाउँ उपलब्ध नहुँदा अघि बढ्न नसकेकाले उक्त पुल निर्माणका लागि पनि पहल गर्न आग्रह गरिएको छ । जवाफमा भारतीय अधिकारी पिथौरागढका एसडिएम अबेन्द्रकुमार पाण्डेले पुल निर्माणका सम्बन्धमा राज्य तथा केन्द्रीय सरकारमा पहल गरिने बताउनुभयो ।

यसैगरी बैठकमा महाकाली नदी किनारमा निर्माण हुन लागेको तटबन्धका बारेमा पनि छलफल भएको छ । केही ठाउँमा भारतीय पक्षले नदीको धार नेपालतर्फ फर्किने गरी तटबन्ध निर्माण गर्न थालेकाले अब उक्त कार्य नगर्ने भारतीय अधिकारीहरुले प्रतिबद्धता जनाएको प्रजिअ कुँवरले बताउनुभयो । तटबन्ध निर्माणका क्रममा केही समस्या देखिए दुवै देशका अधिकारीहरु मिलेर समाधान गर्ने बैठकमा सहमति भएको छ ।

भारतीय पक्षले दार्चुलाको खोतिलामा तटबन्ध निर्माण गर्नका लागि घट्टेबगरको तल नदी किनारबाट अस्थायी बाटो उपलब्ध गराउन माग गरेपनि नेपालले बाङ्गाबगड क्षेत्रमा जोखिम बढ्ने भन्दै अस्वीकार गरेको महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख महेन्द्रप्रसाद बडूले बताउनुभयो । हामीले त्यहाँ बाटो दिन नसक्ने तर, वैकल्पिक बाटोको रुपमा नेपाल भएर निर्माण सामग्री ओसारपसार गर्न सहयोग पु¥याउने भनेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रण गर्नमा पनि दुवै देशका अधिकारीहरुले उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेका छन् । बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी कुँवर, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख बडू, जिल्ला विकास समितिका इन्जिनियर शेखरचन्द्र बडू, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्की र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मी दार्चुलाका प्रहरी नायब उपरीक्षक वीरसिंह शाहुको उपस्थिति  थियो ।

प्रतिक्रिया