बर्जु महोत्सव घटनाको स्वतन्त्र छानवीन गरी दोषीमाथि कारवाही गर्न माग

इनेप्लिज २०७८ माघ ८ गते १७:५२ मा प्रकाशित

विराटनगर,८ माघ।सुनसरीको बर्जु गाउँपालिका –६ को खेल मैदानमा गएको माघ ४ गते भएको घटनाको स्वतन्त्र र न्यायिक समितिबाट छानवीन गर्न नेकपा (एमाले) बर्जु गाउँ कमिटीले माग गरेको छ।

एमाले कमिटीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सुनसरी प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरेको समितिले स्वतन्त्र छानवीन गर्न नसक्ने हुनाले अविलम्व स्वतन्त्र छानवीन समिति गठन गर्न माग गरेको छ।

बर्जु एमाले अध्यक्ष दिलबहादुर गुरुङ र सचिव राजेशकुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयबाट गठन भएको छानवीन समितिमा घटनाका दोषी गाउँपालिकाको प्रतिनिधिलाई समेत राखेर गरिएको छानवीनले सही निश्कर्ष दिन नसक्ने भएको आरोप लगाएको छ।

एमालेले प्रशासनलाई कोभिड –१९ को सङ्क्रमण बढेको भन्दै मेला रोक्न गरेको पत्राचारलाई वेवास्ता गरि कार्यक्रम गर्न बलजफ्ती गर्ने गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई अविलम्व कारवाही गर्न र घटनाको दोषीको रुपमा जिम्मेवारी लिदैं राजीनामा गर्न समेत माग गरेको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले घटनाको विषयमा निश्पक्ष छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराईएको छ ।जनताको गैरकानूनी रुपमा असुल गरिएको रकम यथाशिघ्र फिर्ता गरि दोषीलाई ठगीमुद्धा समेत चलाउन एमालले माग गरेको छ।

विभिन्न समितिको नाममा मुख्यदोषीलाई उन्मुक्ति दिने र मेलामा गएका सर्वसाधारणलाई फसाउने गरि गरिएका सम्पूर्ण हर्कतहरुको समेत निन्दा गरिएको छ।

सुनसरीको बर्जु गाउँपालिका वडा नम्वर ६ मा रहेको बर्जुतालको खेल मैदानमा गत पुस २३ गतेदेखि सञ्चालित तेस्रो ‘बर्जु महोत्सव’मा माघ ४ गते भारतीय भोजपुरी चलचित्रका नायक एवं गायकलाई कार्यक्रम स्थलमा नल्याएको भन्दै टिकट काटेका स्थानीयहरुले तोडफोड र आगजनीमा गर्दा रु ३ करोड ५० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

 

प्रतिक्रिया