विराटनगर,७ कात्तिक।प्रधानमन्त्री शेरबहादुर देउवाले अबिरल वर्षाका कारण मर्महत परिवारलाई राहत उलब्ध गराउने बताउनुभएको।
आज बिहान विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानीको क्रममा उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन गर्ने बताउनुभयो।
प्रधानमन्त्री देउवाले अबिरल वर्षाका कारण भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यबाद पनि दिनुभयो।
प्रधानमन्त्री देउवाले देशभरमा भएका जनधनको क्षति र राहतका निम्ति मन्त्रीपरिषद्को बैठक बसेर निर्णय गरिने भन्दै बाढी र पहिरोबाट आगामी वर्षमा हुने जनधन क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने जानकारी दिनुभयो।उहाँले पीडितहरुलाई तत्काल राहतका निम्ति अल्पकालीन एवं दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा भएको क्षतिको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो।
प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगि क्षतिका विषयमा अवलोकन एवं जानकारी हासिल गर्ने कार्यक्रम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले जानकारी दिनुभयो।
उहाँका साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार हुनुहुन्थ्यो।
प्रतिक्रिया