मन्त्रीपरिषदमा हेरफेर, पुराना चार मन्त्री रहने, प्रमसँग सात मन्त्रालय

इनेप्लिज २०७८ जेठ २२ गते १:१० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्रीहरुको हेरफेर गरेका छन् । उनले आफूसँग प्रधानमन्त्रीसहित थप सात मन्त्रालय राखेर तीन जना उपप्रधानमन्त्री तोकेका छन् ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार रामशरण बजगाईकाअनुसार पुरानामा चार मन्त्री कायम राखेर बाँकी सबै नयाँ अनुहारलाई मन्त्री बनाइएको छ ।

पुराना अनुहारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ कायमै रहेका छन् ।

बाँकी थप भएका मन्त्रीमा शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री, रघुवीर महासेठ उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । तर उनको मन्त्रालय अझै नटुङ्गिएका विज्ञ सल्लाहकार बजगाईले बताए ।

प्रधानमन्त्र ओलीले आफूसँगै राखेका मन्त्रालयमा रक्षा, गृह, सञ्चार तथा सूचनाप्रविधि, कृषि तथा पशुपन्छी विकास , पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन छन् ।

बाँकी मन्त्रालय प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी जसपा नेपाललाई जिम्मेवारी दिएका छन् ।

जसपाले पाएको मन्त्रालयमा राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिने सहमति बनेको छ ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिने तय भएको छ ।

मन्त्रीहरुको शपथ शीतल निवासमा हुने तयारी भएको छ । प्रधानमन्त्रीसँग मौजुदा रहेको मन्त्रालय दुई तीन दिनपछि पार्टीभित्र आन्तरिक लफलपछि विस्तार हुने प्रेस विज्ञ बजगाईले बताए ।

प्रतिक्रिया