कुकुर देखि सावधान !

मित्र उराठी गौतम २०७७ फागुन १९ गते २२:४१ मा प्रकाशित

हिंजो जनताको विचबाट
उसलाई लगेर
अध्यारो खोर भित्र
भोटे ताल्चा लगाएर राखियो
बाहिर काँडे तार लगाइएको थियो
त्यति मात्र हैन
बन्दुक लिएर पहरा दिइयो
ताकि
ऊ जनताको विचमा नजाओस्।
तर,
तर आज परिवर्तन भयो
ऊ आफै जनताबाट टाढिएको छ
काँडे तारको बार भित्र
ठूलो ढोका लगाएर
ऊ आफै वन्दि भएको छ
र ढोकामा लेखिएको छ
‘कुकुर देखि सावधान’
बिचरा सोझो वटुवा ठान्छ
यत्रो घरमा त ठूलो मान्छे बस्दो हो
अनि फेरि दोहोराई दोहोराई पढ्छ
तै पनि लेखिएको छ
‘कुकुर देखि सावधान’।

– मित्र ‘उराठी’ गौतम
……..अस्तु……..

 

 

 

 

मित्र उराठी गौतम

मित्र उराठी गौतम-साहित्यकार /लेखक

प्रतिक्रिया