आमा तिम्रो जन्मदिनमा

इनेप्लिज २०८१ वैशाख ९ गते ११:२९ मा प्रकाशित

पुष्पा खनाल

आमा तिम्रो जन्मदिनमा उपहार भो आँशु
तिमी साथमा छैनौ आमा म कसरी हाँसु ?

रोक्न खोज्छु भेल बाढी परेलीमा डिलमा
जान्छ पहिरो मुटुभित्र चोट लाई दिलमा
नदेखिने घाउ हेर्दै रोइरहन्छ आँशु
तिमी साथमा छैनौ आमा म कसरी हाँसु ?

मन भन्छ बुझाउनु आँखा भन्छ रुनु
यी आँशुले पखालेर मनका पीडा धुनु
मलाई अर्ति दिँदादिँदै आफैँ रून्छ आँशु
तिमी साथमा छैनौ आमा म कसरी हाँसु ?

कानेखुशी गर्छ हावा सुन्छु ध्यान दिई
आयोजस्तो लाग्छ आमा तिम्रो सन्देश लिई
भन्छ सम्झी सम्झी आमा नबगाऊ है आँशु
तिमी साथमा छैनौ आमा म कसरी हाँसु ?

आमा तिम्रो जन्मदिनमा उपहार भो आँशु
तिमी साथमा छैनौ आमा म कसरी हाँसु ?

पुष्पा खनाल
भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया