बुढा निस्किए कुनै भर नभाको !

इनेप्लिज २०८१ वैशाख ९ गते ०:३७ मा प्रकाशित

एउटा “बा” हुनुहुन्छ हाम्रो गाउँमा

गफ र उखान टुक्काका खानी
कहनु हुन्छ जानी नजानी
केही छैन वहाँले नजानेको
केही छैन वहाँले नबुझेको
बिहान उठे देखी राती नसुत्दा सम्म
नदी बगे जस्तै बगिरहन्छन् उखान टुक्काहरू
गफहरू सुन्दा लाग्छ
“बा” अनौठो प्राणी हो
हामी सुनिरहन्छौ “बा” लाई
चौतारोमा बसेर
घर भित्र पसेर
“बा” हिँड्दा लाग्छ लाइन पछि पछि
वाह वाही छ गाउँ भरी “बा” को
“बा” पनि मख्ख
हामी सुन्ने पनि मख्ख
मनोरञ्जन मिलेकै छ
दिनहरू कट्दै छन्
मुखिया हुँदै प्रधान पनि बनाइयो “बा” लाई
तर मरेन माखो
अरूको खान्थे सातो
तर आफै डगाउन सकेनन्
मुखिया र प्रधान हुँदा बोकेको जाँतो
कुरौटे उनी
गाली गलौचका शिरोमणि उनी
कुरा पनि कति हो आको
उखान टुक्काको त बरदाननै छ पाको
तर छैनन् कुनै भर भाको
अहिले त छन् अर्कैको पछि लाको
बुढा निस्किए कुनै भर नभाको
तर पनि उखान टुक्का र गफ,
सुन्न र हाँस्न मजा आउँछ “बा” को !

– रामप्रसाद खनाल ( यो हाम्रा गाउँका “बा” को सत्य कथा हो, कहीँ कतै मिल्न गएमा संयोग मात्रै हुने छ ) 

प्रतिक्रिया