मेरो सपनाको
बनिसकेको
एउटा शान्त, स्थिर तालमा
आज मैले फेरि फ्याकेँ
एक थुँगा
रातो गुलाफ
र
लहरहरू फैलिए
किरिङ मिरिङ अक्षरहरूजस्तै
र बने फेरि त्यही आकृति
फेब्रुअरी १४
एउटा विश्वास
हिजो, आज र अझै भोलिको
त्यो बन्यो
फेरि कुनै तेस्रो रङ मायाको
न तिम्रो रातो गुराँसको रङजस्तो
न मैले चाहिरहने गुलाफी मनको रङजस्तो ,
अपरिचित मुस्कान भएर फेरि आयो
फेब्रुअरी १४
रातो वाइनको मातभित्र–भित्रैको
रातो तातो रङजस्तै
मैले खोजिरहे
तिम्रा ओठका बाफिला स्पर्शहरू
खोइ
फक्रिए
वा
फर्किए
फेरि त्यही पुराना दिनहरूमा ।
जबसम्म आउँदैन त्यो गुलाफी दिन
अन्तहीन भएर
मैले जिन्दगी धरौटी राखिरहेँ उनको नाममा–
फेब्रुअरी १४ !
१४ फेब्रुअरी २०२१, लेगोस ।
प्रतिक्रिया