न्हू दयाँ भिन्तुना

बसन्त श्रेष्ठ ,अमेरिका भर्जिनिया २०७७ कार्तिक २८ गते ०:३२ मा प्रकाशित

अलग अलग चेहराका
अलग अलग परम्परा
भिन्ना भिन्नै जातका भिन्ना भिन्नै रित
बेग्ला बेग्लै थरका बेग्ला बेग्लै भाषाहरु
मानौ नेपाल एउटा बिशाल संसार हो
भनौ संस्कृति र परम्पराको खानीको देश हो !

तिहारको रमझम भित्र
बुद्ध महर्जनले बाँडेको न्हू दयाँ भिन्तुना
बैशाख महिनाको सुरुमा
बिजय थापाले दिएको नया बर्षको शुभकामना
अनि
ससांग लामाले दिएको ल्होसारको शुभकामना
लाग्छ
हामि बिभिन्न जातिका
एउटा नै बगैचाका फूलहरु हौँ
हामि थुप्रै धारणा भित्रका
एउटा नै मूल विचारका अस्तित्व हौँ
हामि छरिएर रहेका हिमाल, पहाड र तराईका
एउटा नै देशका बासिन्दा हौँ

सोच्छु,
एउटा नेपालीको मृत्यूमा
अर्को नेपालीको मुटु दुख्छ भने
एउटा नेपालीको भावनामा ठेस पुग्दा
अर्को नेपालीको स्वाभिमान जाग्छ भने
कसैले सांस्कृतिक परम्पराको बिरोध गर्दा
सम्पूर्ण नेपालीको नेपालीत्व जाग्छ भने
यो भिन्तुना
बुद्ध महर्जनको मात्र हुन् सक्दैन
त्यो शुभकामना
बिजय थापाको मात्र पनि हुन् सक्दैन
अनि त्यो ल्होसार को शुभकामना
ससांग लाममको मात्र पनि हुन् सक्दैन

त्यसैले
नया बर्षको शुभकामना
गोबिन्द गिरि लाई मात्र होईन
गोबिन्द प्रधान लाई पनि हो
ल्होसारको शुभकामना
नेत्र घिसिंग लाई मात्र होईन
लेखनाथ भण्डारी लाई पनि हो
अनि
यो न्हू दयाँ भिन्तुना
राम मालाकार लाई मात्र होईन
डीबी तामांग लाई पनि हो !

धन्यबाद !

 

प्रतिक्रिया